free website hit counter

शरणार्थी काण्डमा कसलाई के भयो फैसला ?

beemaadmin
२०८० मंसिर १५, शुक्रबार

काठमाडौं । सिंहदरबारमै बसेर आफ्ना नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने महामहिमहरुको कर्तुतमाथि सम्मानित अदालतले आज फैसला गरेको छ । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो । उनीहरुलाई जिल्ला अदालत, काठमाडौंले १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनीहरुमध्ये पाण्डे गृहसचिव भएका बेला भुटानी शरणार्थीबारेको अध्ययन प्रतिवेदनमा कीर्ते भएको थियो । गृह मन्त्रालयमा रहेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची थपेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । इन्द्रजित राई रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला उनका सुरक्षा सल्लाहकार थिए । उनले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको अनुसन्धानबाट खुलेको थियो । मोरङका केशव दुलाल र सानु भण्डारी भुटानी शरणार्थी प्रकरणका मुख्य विचौलियामध्येका भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, पीडितहरुको घटना विवरण कागज, प्रतिवादीले एकआपसमा गरेको पोल बयान र अन्य प्रमाणका आधारमा उनीहरुलाई थुनामा राख्ने आदेश बेरितको नदेखिएको अदालतको ठहर छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको आदेश बाझिएको छ । एक न्यायाधीशले ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने भनेका छन् भने अर्का न्यायाधीशले नछाड्ने राय राखेका छन् । यसपछि तेस्रो न्यायाधीशकहाँ उनको मुद्दा फेरि पेश हुँदैछ । अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायतलाई भने धरौटीमा छाड्न आदेश दिएको छ ।

खाँणका स्वकीय सचिवलाई धरौटीमा छाड्न आदेश
खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार अदालतले १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो । सहप्रतिवादी र प्रतिवादीले उनलाई पोल गरेको नदेखिएको र केसीले इन्कारी बयान दिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो । ‘प्रमाणबाट ठगीको रकम प्राप्त हुन नसकेको अवस्था देखिएकाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश बेरितको देखिएको’ आदेशमा उल्लेख छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा केसी २७ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै पक्राउ परेका थिए । उनीसहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि केन्द्रीय कारागार सुन्धारामा थिए ।

नेता रिजाललाई १५ लाख धरौटी तोकियो
भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । उनले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो । उनी भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको भन्दै रिजाललाई थुनामा राखी राख्नुनपर्ने उच्च अदालतले भनेको छ । ४ जेठमा प्रहरीले रिजाललाई पक्राउ गरेको थियो । उनीसहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि केन्द्रीय कारागार सुन्धारामा थिए ।

टोपबहादुरका छोरासँग ३० लाख धरौटी मागियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो । उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ । जिल्लाले टोपबहादुरलाई थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले उनलाई २० वैशाखमा बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

खाँणबारे न्यायाधीशहरूकै राय बाझियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । तर अर्का न्यायाधीश खरेलले अहिले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् । अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ । तेस्रो न्यायाधीश को हुने भन्ने अहिल्यै निश्चित छैन । गोलाप्रथाबाट इजलास तोकिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार