free website hit counter

शुद्धोधन गाउँपालिकाको योजना : कन्या कलेजदेखि मेडिकल कलेजसम्म

beemaadmin
२०७६ पुष १२, शनिबार

कपिलवस्तु । विश्व शान्तिका अग्रदूत गौतम बुद्धका पिता कपिलवस्तुका तत्कालीन राजा शुद्धोधनको नामबाट नामकरण गरिएको शुद्धोधन गाउँपालिकाको मुकाम लवनी हो । कपिलवस्तु जिल्लाको पूर्वी–दक्षिणी भेगमा अवस्थित यो गाउँपालिका स्थानीय तहको पुनसंरचना गर्दा साविकका छवटा गाउँ विकास समिति पतरिया, नन्दनगर, लवनी, बिठुवा, हथिहवा र बाँसखोर मिलाई शुद्धोधन गाउँपालिका बनाइएको थियो । शुद्धोधन गाउँपालिकाको कुल क्षेत्रफल ९१.९९ वर्ग किलोमिटर रहेको छ । वि.सं. २०६८ सालको जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या ४५ हजार रहेको छ । जसमा २२ हजार ४६८ महिला र २२ हजार ७३३ पुरुष छन् । उक्त गाउँपालिकामा छ हजार ३४६ घरधुरी रहेको तथ्यांक छ ।

यो गाउँपालिका ऐतिहासिक तथा आर्थिक हिसाबले परापूर्वकालदेखि नै एक महत्त्वपूर्ण र विशिष्ट स्थलको रूपमा परिचित हुँदै आएको छ । बुद्धको जन्मस्थल लुम्बिनी र प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जोड्ने राजमार्गको बीचमा रहेको यस गाउँपालिकाको भूभाग समथर र उब्जाउ छ । यहाँ प्रायः सबै जातजातिका मानिसहरूको बसोबास छ ।

स्थानीय तहको निर्वाचनपछि यो गाउँपालिकामा जनप्रतिनिधिहरुको प्रयास र पहलबाट विकास निर्माणका थुप्रै कामहरु भएका छन् । गाउँपालिका अध्यक्षमा निसार अहमद खाँ निर्वाचित भएर आएपछि सक्रियतापूर्वक उनले गाउँपालिकाको विकासका लागि समान ढंगबाट काम अगाडि बढाएका छन् । अर्थबीमा डटकमसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष खाँले गाउँपालिकाभित्र भइरहेका विकास निर्माण लगायत अन्य कामहरुका बारेमा विस्तृत रुपमा मात्रै बताएनन् भावी योजना समेत सुनाउन भ्याए । उनकाअनुसार गाउँपाकिलाले गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिइरहेको छ । गाउँपालिकाको अहिले १ थान एम्बुलेन्सबाट उक्त सेवा प्रवाह भइरहेकोमा आउने दिनमा थप १ एम्बुलेन्स सञ्चालनमा आउने छ । गाउँपालिकाको बजेटबाट स्वास्थ्य क्षेत्रमा थुप्रै कामहरु भएका छन् । त्यसमध्ये क्यान्सर, मुटु, मृगौला पीडित गाउँपालिकाका बासिन्दालाई औषधि उपचारस्वरुप प्रतिव्यक्ति ३० हजार रुपैयाँ प्रदान गरिँदै आएको छ ।

हालसम्म यो सेवाबाट १ सय ४३ जनाले उक्त सेवा लाभ उठाइसकेका छन् । दैविक प्रकोपबाट पीडित नागरिकहरुका लागि लक्षित गरेर गाउँपालिकाले प्रति परिवार ३० हजारका दरले हालसम्म ३० परिवारलाई सेवा पुर्याइसकेको छ । त्यस्तै अपांङ्ता भएका व्यक्तिहरुलाई लक्षित गरी विगत वर्षहरुमा ६ जना अपाङ्गता भएका मानिसलाई रिक्सा र दुवै खुट्टा नभएका १० जनालाई स्कुटी वितरण गरिएको छ भने यो आर्थिक वर्षमा थप १० जनालाई वितरण गर्ने तयारी भइरहेको छ । गाउँपालिकाले आफ्नै पहलमा कन्या कलेज सञ्चालनमा ल्याएको छ । यो कलेज सञ्चालनमा आएपछि १ सय ४० जना छात्राहरुले अध्ययन गर्ने अवसर पाएका छन् भने उनीहरुलाई निःशुल्क रुपमा गाउँपालिकाको बजेटबाट ड्रेस दिने समेत व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभाका सदस्य चन्द्रदेव खनाल (बलदेव) को सांसद विकास कोषको ५० लाख र गाउँपालिकाको १६ लाख बजेटबाट उक्त कलेज सञ्चालनमा ल्याइएको हो । यो वर्ष सांसद खनालले ५० लाख रुपैयाँ थपिदिने प्रतिबद्धता व्यक्त गरेका छन् भने जिल्ला समन्वय समितिले ५० लाख दिने भएको छ । यी दुवै बजेटबाट गाउँपालिकाले उक्त कलेजमा बाउन्ड्री वाल लगाउनेदेखि लिएर माटो भर्ने लगायतका अन्य सुधारका काम गर्ने योजना बनाएको छ । त्यस्तै सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत गाउँपालिकाले विपन्न विधवाहरुलाई आयआर्जनमा सरिक गराउनका लागि प्रतिव्यक्ति १० हजारका दरले ५० जनालाई वितरण गरेर सानो व्यवसाय सञ्चालन गर्नका लागि प्रेरित गर्दै आएको छ । यो रकमबाट उनीहरुले पान पसल, किराना पसल लगायतका साना व्यवसाय सञ्चालन गर्दै आएका छन् । कुपोषण पीडित नागरिकहरुलाई जिविकोपार्जनका लागि प्रतिव्यक्ति १० जोडीका दरले ५०० जनालाई ५ हजार कुखुराका चल्ला आयआर्जनका लागि वितरण गरिएको छ ।

त्यस्तै १६ विपन्न परिवारलाई टिनको छानोसहितको घर उपलब्ध गराएको गाउँपालिकाले कृषि तथा फलफुल व्यवसाय गर्न इच्छुक कृषकहरुलाई लक्षित गरी ५ हजार लिची र आँपका विरुवा वितरण गरेको छ । त्यस्तै २ जना कृषकलाई भैसी पालनका लागि ५० हजारका दरले अनुदान वितरण गरेको गाउँपालिकाले घाँस खेती प्रवद्र्धनका लागि एक जनालाई नमूना कृषकका रुपमा रु १ लाख अनुदान प्रदान गरेको छ । त्यस्तै गाउँपालिका अध्यक्षमा खाँ निर्वाचित भएलगत्तै उनकै पहलमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । स्वास्थ्य क्षेत्रको पहुँच सहज नभएको अवस्थामा स्थापित उक्त बर्थिङ सेन्टरमा प्रतिमहिना कम्तिमा ५० जना महिला सुत्केरी सेवाका लागि आउने गरेका छन् । यतिसम्मकी छिमेकी गाउँपालिका र नगरपालिकाका बासिन्दा पनि उक्त सेवा लिन पुग्ने गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा गाउँपालिकालाई अझै विकसित बनाउनका लागि गाउँपालिकाकै पहलमा मेडिकल कलेज खोल्ने योजना पनि बनाएका छन् अध्यक्ष खाँले । शुद्धोधन सामाजिक स्वास्थ्य केन्द्र स्थापना गरी भौतिक पूर्वाधार निर्माण भएपछि शुद्धोधन मेडिकल कलेजका रुपमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको उक्त कलेज स्थापनाका लागि २० बिगाहा जग्गाको जोहो भइसकेको बताउँछन् अध्यक्ष खाँ । सस्तो दरमा चिकित्सक उत्पादन गर्ने र गाउँपालिकाका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफूले यो योजना अघि सारेको बताउँछन् । संघीय र प्रदेश सरकार र दाताहरुलाई आर्थिक सहयोगका लागि गुहारिने उनी बताउँछन् । त्यस्तै नर्सिङ शिक्षा गाउँपालिकाकै पहलमा उपलब्ध गराउनका लागि नर्सिङ कलेज खोल्ने तयारी पनि उनले थालेका छन् ।

सिञ्चाईतर्फ २५ वटा स्यालो ट्युवेल वितरण गरेको गाउँपालिकाले खानेपानीको सुविधाका लागि केन्द्रीय सरकारसँग एउटा डिप बोरिङ सञ्चालन गर्नका लागि यस आर्थिक वर्षमा बजेट छुट्याइएको र कार्यान्वयनको प्रक्रियामा गइसकेको अध्यक्ष खाँले बताए । गाउँपालिकाभित्रको बजार (प्रगतिनगर १) व्यवस्थापनका लागि ४० लाख केन्द्रबाट र गाउँपालिकाबाट ४ लाख बजेट विनियोजन गरेर कार्यक्रम अघि बढाइएको छ भने वडा नं. १ मा बर्थिङ सेन्टर सञ्चालन गर्ने र गाउँपालिकाभित्रै १५ शैयाको अस्पताल स्थापनका लागि जग्गा व्यवस्थापन गरेर आवश्यक स्वीकृतिका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको अध्यक्ष खाँले बताउनुभयो ।

त्यसैगरी वडा नं. २ र ६ को बीचमा पर्ने बेति नदीमा ५ करोड ८० लाख लागतमा पक्की पुल निर्माण भइरहेको छ । गाउँपालिकाको आफ्नै भवन बनाउने खाँको योजनाबमोजिम जग्गा व्यवस्थापनको काम भइरहेको र यो वर्ष नै शुरु गर्ने लक्ष्यसहित आवश्यक बजेट विनियोजन समेत भइसकेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा जनतामाझ पुग्नुभएका खाँको दूरगामी दृष्टिकोण र समाजसेवाप्रतिको लगावलाई विश्वास गरेर नै उहाँलाई त्यहाँ निर्वाचित गरिएको थियो । यस गाउँपालिकालाई वि.सं. २०७३ असार १७ गते पूर्ण साक्षर गाउँपालिका घोषणा गरिएको थियो । अध्यक्ष खाँको लगाव, सक्रियता र इमान्दारितालाई गाउँपालिकाका अन्य जनप्रतिनिधि र आम नागरिकले पनि साथ दिँदै आएका छन् ।

सम्बन्धित समाचार