काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्ष एवं महासमिति सदस्य जन्मजय तिमिल्सिनालाई पार्टीको महत्वपूर्ण मानिने संगठन विभागको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आइतबार तिमिल्सिनालाई पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम तिमिल्सिनालाई संगठन विभागको केन्द्रीय सदस्य मनोनित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । युवा नेता तिमिल्सिनाले पार्टी दिएको योगदानको मूल्यांकन गर्दै महत्वपूर्ण जिम्मेवारी दिइएको हो । यसअघि नै उक्त विभागको प्रमुखमा गोपलामान श्रेष्ठलाई मनोनित गरिसकिएको छ ।
पार्टी संगठनलाई मजदुब बनाउने कार्यमा आफूलाई संगठनले सदस्यको जिम्मेवारी दिएकोमा पार्टी नेतृत्वप्रति तिमिल्सिनाले आभार व्यक्त गर्दै पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने बताएका छन् । तिमिल्सिनाले एक विज्ञप्ति जारी गर्दै काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने वर्तमान परिप्रेक्ष्यमा पार्टीको महत्वपूर्ण मानिने संगठन विभागलाई क्रियाशिल बनाउँदै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने कार्यमा पार्टीलाई जिम्मेवार रुपमा उभ्याउनका लागि आफ्नो भूमिका प्रभावकारी हुने बताएका छन् ।
पार्टी सभापति देउवाले आइतबारै उक्त विभागलाई पूर्णता दिँदै ४१ जना सदस्य पुर्याएका छन् । यस्तै हरिप्रसाद नेपाल प्रमुख रहेको शिक्षा विभागलाई ४० सदस्यीय, महेन्द्र यादवको संयोजकत्वमा रहेको यातायात व्यवसायी समन्वय विभागलाई ४१ सदस्यीय, मुस्लिम विभाग ३८ सदस्यीय, तराई मधेश समन्वय विभाग ४१ सदस्यीय, संघीय मामिला तथा प्रदेश समन्वय विभाग ४० सदस्यीय, वन, वातावरण तथा विपद् व्यवस्थापन विभाग ३९ सदस्यीय, वित्तीय तथा सहकारी संस्था समन्वय विभाग ४१ सदस्यीय, स्थानीय तह समन्वय विभाग ३८ सदस्यीय, निर्माण व्यवसायी समन्वय विभाग ३९ सदस्यीय बनाउँदै ती विभागहरुलाई पूर्णता दिएका छन् ।