free website hit counter

संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने

beemaadmin
२०८३ भाद्र २, मंगलवार

काठमाडौं — संघीय सरकारअन्तर्गतका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले अबदेखि हरेक १५ दिनमा अर्थात् अर्धमासिक रूपमा तलब तथा भत्ता पाउने भएका छन्।

महालेखा नियन्त्रक कार्यालयले परिपत्र जारी गर्दै नयाँ व्यवस्थाअनुसार कर्मचारीको तलब तथा भत्ता भुक्तानीको व्यवस्था मिलाउन मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।

अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन तथा बजेट वक्तव्यमा उल्लेखित व्यवस्थाअनुसार कर्मचारीको दैनिक नगद प्रवाह सहज बनाउने उद्देश्यले अर्धमासिक तलब भुक्तानी प्रणाली लागू गर्न लागिएको हो। नयाँ व्यवस्थापछि संघीय कर्मचारीले महिनाको अन्त्यसम्म तलबका लागि कुर्नुपर्ने अवस्था हट्नेछ।

अब प्रत्येक १५ दिनको अवधि पूरा भएपछि सो अवधिको तलब तथा भत्ता भुक्तानी गरिनेछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यसका लागि आवश्यक प्राविधिक व्यवस्था सम्बन्धित प्रणालीमा मिलाइसकिएको छ।

बजेट वक्तव्यमा उल्लेख गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत यही प्रक्रियाबाट भुक्तानी गरिने कार्यालयले जनाएको छ। यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई निर्देशन दिइएको छ।

सरकारले कर्मचारीको आर्थिक आवश्यकतालाई सम्बोधन गर्नुका साथै बजारमा मुद्रा प्रवाहलाई चलायमान बनाउने उद्देश्यले वैशाखदेखि नै अर्धमासिक तलब भुक्तानीसम्बन्धी नीतिगत मार्गदर्शन अघि सारेको थियो।

सम्बन्धित समाचार