पृष्ठभूमि
नेपालमा हाल प्रचलित चिकित्सा पद्धतिहरुमा एलोपैथिक चिकित्सा प्रणाली, आयुर्वेद चिकित्सा प्रणाली, होमियोपैथिक चिकित्सा प्रणाली, यूनानी चिकित्सा प्रणाली र प्राकृतिक चिकित्सा प्रणालीहरु मुख्य हुन् । यी चिकित्सा पद्धतिहरु नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सा पद्धतिहरु हुन् । यस बाहेक स्वाः रिग्पा वा आम्ची पद्धति नेपालको हिमाली क्षेत्रमा परम्परागत रुपमा भोटे समुदायमा चलन चल्तीमा रहेको पाइन्छ । एलोपैथिक चिकित्सा बाहेकका चिकित्सा पद्धतिहरुलाई आम भाषामा वैकल्पिक चिकित्साका विद्याका रुपमा बुझिन्छ । तर आयुर्वेद लगायतका अन्य चिकित्सा पद्धतिहरुलाई पूरक चिकित्सा प्रणालीको रुपमा उल्लेख गर्न बढी उपयुक्त हुनेछ, यद्यपि राज्यबाट नै एलोपैथिक चिकित्सा पद्धति बाहेक लाई वैकल्पिक चिकित्सा नाम दिइएको छ ।
वास्तवमा कुनै पनि चिकित्सा पद्धति आफैँमा परिपूर्ण हुदैन । विश्वमा सबभन्दा विकसित र साक्ष्य अधारित चिकित्सा वा ईभिडेन्स बेस्ड मेडिसिन भनिएको एलोपैथिक चिकित्सा पद्धति जीवन शैली जन्य व्याधिहरु तथा नसर्ने रोगहरुको हकमा सफल हुन नसकिरहेको अवस्थामा आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा पद्धतिहरुको प्रयोग यी समस्याहरुमा प्रभावकारी देखिएको अध्ययनहरुले देखाएको छ । त्यसै गरि सूक्ष्म जीवाणु जन्य व्याधिहरुमा आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा भन्दा एलोपैथिक चिकित्सा पद्धतिको प्रयोग स्पेशिफिक तथा प्रभावकारी हुन्छ । त्यसै गरि शल्यकर्म मा एलोपैथिक चिकित्सा प्रणालीले व्यापक प्रगति गरिसकेको छ । अहिले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को परिपेक्ष्यमा पनि हाल सम्म कुनै विशेष औषधि तथा भ्याक्सिन पत्ता नलागिसकेको अवस्थामा आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने औषधिहरुको प्रयोगले केहि हदसम्म भए पनि आशा जगाएको छ । एलोपैथिक चिकित्सा पद्धतिलाई ईभिडेन्स बेस्ड मेडिसिन मानिन्छ भने आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिलाई एक्सपेरियन्स्ड बेस्ड मेडिसिन भन्न सकिन्छ, किनभने हजारौ वर्षको प्रयोग र प्रचलनले समयको कसीमा खरो साबित भएकोछ ।
विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसार विश्व भरि लगभग ८० प्रतिशत जनसंख्या प्राथमिक उपचारकोलागि कुनै न कुनै रुपमा परम्परागत चिकित्सा पद्धति प्रयोग गर्दछन् । यही कुरालाई ह्रदयङ्गम गरि “सबैकोलागि स्वास्थ्य” भन्न नारा साकार पार्न विश्व स्वास्थ्य संगठनले आयुर्वेद तथा अन्य परम्परागत चिकित्साको प्रयोगमा बढावा दिने नीति ल्याइ सोही अनुरुप कार्य गर्दैछ । हाम्रो देश नेपालमा पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा जनमानसमा प्रचलित छ र राज्यले पनि यसलाई मान्यता दिएको छ । हजारौ वर्ष पुरानो इतिहास भएको आयुर्वेदलाई आधुनिक नेपालको इतिहासमा १७औ शताब्दीमा राजा प्रताप मल्लले बैद्यखाना स्थापना गरि विधिवत् रुपमा सरकारी संरक्षण दिए । त्यसपछि शुरु भएको आयुर्वेदको आजको मिति सम्म आईपुग्दा जुन किसिमले व्यापकता र विकास हुनु पर्ने हो , त्यो पक्कै पनि भएको छैन । यसका विविध कारणहरु छन्, यो लेखमा बुंदागत रुपमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको वर्तमान परिपेक्ष्यलाई केलाइ समस्या र समाधानका सुझावहरु दिने प्रयास गरिएको छ ।
नेपालको संविधान २०७२ र आयुर्वेद तथा वैकल्पिक चिकित्सा
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निस्शुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ ।संविधानको भाग–४ ः राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, धारा ५१. राज्यका नीतिहरू अन्तर्गत उपधारा ज मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिमा नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपैेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने भन्ने उल्लेख गरिएको छ । यसरी नेपालको संविधानले आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधारभूत सेवा तथा मौलिक हकको रुपमा स्वीकार गरिसकेको अवस्थामा संघीय संरचना अनुरुप आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणालीलाई प्रदेश तथा पालिका स्तरमा स्थापित गर्दै नागरिकलाई गुणस्तरीय सेवा परयाउनु आजको आवश्यकता हो र संघ, प्रदेश र स्थानीय तहको दायित्व हुन जान्छ । आधारभूत स्वास्थ्य सेवालाई सशक्त वनाउनका लागि आधुनिक चिकित्सा पद्दति संगै परम्परागत चिकित्सा पद्दतिको परिचालनको महत्वलाई अल्माआटा घोषणाले स्वीकार गरेको छ । यस रणनीतिले नागरिकको सामाजिक तथा भावनात्मक स्वास्थ्यलाइ सुनिश्चित गर्ने परिकल्पनालाई साकार गराउनका लागि परम्परागत चिकित्सा पद्दतिको भूूमिका अझै वढि रहन्छ ।अन्तराष्द्रिय अनुभवले केही मामिलामा भावनात्मक तथा आध्यात्मिक कारणले पनि रोगि हुनसक्ने देखाएको छ ।त्यस्तोमा आधुनिक चिकित्सा पद्दतिको तुलनामा परम्परागत चिकित्सा पद्दति प्रभावकारी भएको पाइएको छ ।
संघीय संरचनामा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्साका संस्थाहरु
– आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु काठमाण्डौ ।
– नरदेवी आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाण्डौ ।
– सिंहदरबार बैद्यखाना, अनामनगर, काठमाण्डौ ।
– राष्ट्रिय आयुर्वेद अनसन्धान तथा तालीम केन्द्र, किर्तिपुर ।
– स्वास्थय तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा ।
– औषधि व्यवस्था विभाग अन्तर्गत आयुर्वेद शाखा ।
– पशुपति होमियोपैथिक अस्पताल, हरिहरभवन, ललितपुर ।
प्रदेश सरकार मातहत आयुर्वेद तथा वैकल्पिक चिकित्साका संस्थाहरु
– हरेक प्रदेशमा प्रत्येक जिल्लामा जिल्लास्तरीय आयुर्वेद स्वास्थ्य संस्थाको रुपमा ६१ जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र, साबिकको १४ वटा अंचलमा आयुर्वेद औषधालय रहेको जुन अहिले जिल्ला स्तरीय आयुर्वेद संस्था कै रुपमा रहेको छ तर थप भएको दुई नयाँ जिल्लाहरु रुकुम पश्चिम र नवलपरासी पूर्वमा स्थापना हुन सकेको छैन् ।
– यस बाहेक प्रदेश नं १ को झापा लखनपुरमा प्रदेश स्तरीय आयुर्वेद चिकित्सालय स्थापनाकोलागि प्रारम्भिक कार्य अगाडि बढेकोछ ।
– प्रदेश नं ५ को बिजौरी, दाङ्गमा ५० शैयाको आयुर्वेद चिकित्सालय संचालनमा रहेकोछ ।
– सुदुर पश्चिम प्रदेशको कैलालीमा प्रदेश स्तरीय आयुर्वेद चिकित्सालय स्थापनाको क्रममा भवन निर्माण भैसकेकोछ ।
– गण्डकी प्रदेशमा प्रदेश स्तरीय आयुर्वेद चिकित्सालय स्थापनाको क्रममा हालसालै जग्गा अधिग्रहण भएको र भवन निर्माणकोलागि अगामी आ.व. २०७७्र्र÷७८मा बजेट समेत विनियोजन भएको ।
स्थानीय सरकार मातहतका आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य संस्थाहरु
स्थानीय सरकार मातहत विभिन्न पालिकाहरुमा आयुर्वेद औषधालयहरु क्रियाशिल छन् । ७५३ स्थानीय निकायहरु रहेकोमा सबै स्थानीय निकायमा आयुर्वेद औषधालयहरु छैनन् । हालसम्म ३०५ वटा आयुर्वेद औषधालयहरु विभिन्न स्थानीय निकायमा संचालित छन् तर आयुर्वेद बाहेकका अन्य वैकल्पिक चिकित्साका संस्थाहरु स्थापना भएका छैनन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि हालसम्मका नीतिहरु
हालसम्मको इतिहास हेर्दा “राष्द्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२” बाहेक आयुर्वेदको विकास विस्तार सम्बन्धि छट्टै आयुर्वेदको नीति बनेको देखिदैन । तर स्वास्थय नीति बन्ने क्रममा कहिलेकाही त्यसले समेत आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि परिभाषिक रुपमा उल्लेख गरिएको पाइन्छ । हालसालै जारी गरिएको “राष्ट्रिय स्वास्थ्य नीति २०७६” ले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि केहि आधारभूत कुराहरु समेटेको छ ।
“राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२”का मुख्य बुंदाहरु
– आयुर्वेद विभागको सुदृढिकरण ।
– नरदेवी आयुर्वेद चिकित्सालयलाई विशेषज्ञ सेवा सहितको अस्पतालको रुपमा सुदृढिकरण ।
– सिंहदरबार बैद्यखानाको सुदृढिकरण तथा आधुनिकिकरण ।
– दाङ्ग आयुर्वेद चिकित्सालयलाई लाई क्षेत्रिय आयुर्वेद चिकित्सालयको रुपमा सुदृढिकरण तथा बाँकि रहेको चारवटै विकार क्षेत्रमा ल्याब सहितको कम्तीमा पन्द्रह शैया सहितको अस्पताल स्थापना ।
– हरेक ५ गा.वि.स.को बिचमा एउटा आयुर्वेद औषधालयको स्थापना ।
– हिमाल, पहाड, तराई गरि हरेक भौगोलिक क्षेत्रमा नमूना जडिबुटी फर्मको स्थापना ।
– सरकारी तथा नीजी स्तरमा आयुर्वेद औषधि उत्पादन गर्ने कम्पनीहरुको स्थापना ।
– आयुर्वेद औषधिको गुणस्तरको लागि अत्याधुनिक ल्याब सहितको आयुर्वेद औषधि परिक्षण समितिको स्थापना ।
– नेपाल आयुर्वेद फर्माकोपियाको निर्माण ।
– मध्यमस्तरीय, उच्चस्तरीय तथा विशेषज्ञ जनशक्तिको उत्पादन ।
– सुविधा सम्पन्न आयुर्वेद अनुसन्धान केन्द्रको स्थापना ।
– आयुर्वेदका पुराना तथा हस्तलिखित ग्रन्थहरुको संरक्षणको लागि डाटा बैंक, पुस्तकालय स्थापना।
– परम्परागत रुपमा रहेका आयुर्वेद तथा जडिबुटि सम्बन्धि ज्ञानको अभिलेखिकरण ।
– जडिबुटिको संरक्षण तथा खेती प्रवर्धन ।
“राष्ट्रिय स्वास्थ्य नीति २०७६”मा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि नीति तथा रणनीति
नीतिः आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिक लगायतका चिकित्सा, प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तार गरिनेछ ।
रणनीतिहरु:
– संघीयण संरचनाअनुरूप आयुवेद चिकित्सा सम्बन्धी तहगत संस्थाहरूको योजनाबद्द ढंगले विकास तथा विस्तार गरिनेछ ।
– योग तथा प्राकृतिक चिकित्सा, होमियोप्याथिक, युनानी, अकुपन्चरलगायत अन्य चिकित्सा पद्दतिलाई संघीय संरचनाअनुरूप स्थानीय तहसम्म विकास र विस्तार गरिनेछ ।
– स्थानीय स्तरमा उपलब्ध औषधीिजन्य जडीबुटी, खनिज एवम् जान्तव द्रव्यको पहिचान, संरक्षण, संकलन, प्रबद्र्दन गर्दै आयुर्वेद चिकित्सामा वैज्ञानिक अनुसन्धान तथा सदुपयोग गरी आत्मनिर्भरता अभिवृधि गरिनेछ ।
– प्रचलित तथा परम्परागत चिकित्सा सेवाहरूलाई निश्चित मापदण्डका आधारमा सूचीकति व्यवस्थित तथा नियमन गरिनेछ ।
– आयुर्वेद, पञ्चकर्म, योग तथा प्राकृतिक चिकित्साको विशिष्टिकृत सेवासहितको राष्ट्रिय आयुर्वेद, योग तथा पञ्चकर्म केन्द्रको स्थापना गरी यी क्षेत्रलाई स्वास्थ्य पर्यटनमा टेवा पुरयाउने गरी क्रमशः संघीय संरचना बमोजिम विस्तार गर्दै लगिनेछ ।
– आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठान र आयुवेद विश्वविद्यालयको स्थापना गरी आयुर्वेद विज्ञान र प्राकृतिक चिकित्सा प्रणालीको अध्ययन, उपचार र अनुसन्धान गरिनेछ ।
आ.व. २०७७ /७८ को वार्षिक नीति तथा कार्यक्रममा आयुर्वेद
हरेक वर्ष झै यस वर्ष पनि निरन्तरता र औपचारिकताकोलागि नेपाल सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई समेटिएको छ । जसमा योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाको कुरा उल्लेख छ र आयुर्बेदिक, युनानी, होमियोप्याथी एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवर्द्धन गरिनेछ भन्ने उल्लेख छ । त्यसै गरि आम नागरिकलाई योगाभ्यास र शारीरिक व्यायाम सहितको जीवन पद्धति अपनाउन प्रेरित गरिनेछ । स्थानीय तहका वडाहरूमा ब्यायामशाला, आरोग्य केन्द्र र योग केन्द्रहरू स्थापना गर्न प्रोत्साहन गरिनेछ भनि उल्लेख छ ।
हाल संचालनमा रहेका केहि महत्वपूर्ण कार्यक्रमहरु
– नागरिक आरोग्य कार्यक्रम
– निःशुल्क आयुर्वेद तथा र्वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर ।
– आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई “योग तथा जीवन शैली व्यवस्थापन” सम्बन्धित तालिम
– जीर्वनशैली व्यवस्थापन प्राथमिक स्वास्थ्य केन्द्रमा ।
– आयुर्वेद सम्बन्धि सूचनामूलक सामाग्री उत्पादन, प्रकाशन तथा प्रसारण ।
– जेष्ठ नागरिकको लागि स्वास्थ्य सम्बर्धन कार्यक्रम ।
– स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक जडिबुटी जन्य औषधि वितरण सम्बन्धि कार्यक्रर्म
– पूर्वकर्म तथा पंचकर्म कार्यक्रम ।
– क्षारसूत्र सेवा ।
– गाउँघ र शहरी क्लिनिक, नसर्ने रोग व्यवस्थापन कार्यक्रर्म ।
– स्वस्थ्य जीवन कार्यक्रम ।
– जडिबुटि चूर्ण निर्माण कार्यक्रम ।
– विद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रम ।
– स्थानीय जडिवुटि परिचयात्मक कार्यक्रम तथा स्वास्थ्य संस्था (आयुर्वेद तथा वैकल्पिक) हरूको लगत संकलन ।।
आयर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट संचालित केहि अध्ययन अनुसन्धानहरु
ज्डिबुटिहरुमा वातारणीय प्रभाव अध्ययनको क्रममा रहेको छ । त्यसै गरि गाँजाको विषाक्तता प्रभाव पनि अध्ययनको क्रममा रहेको छ । विभागले विभिन्न निर्देशिकाहरु बनाउने तथा त्यस मार्फत आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको गुणस्तरता नियमन तथा सेवा प्रभावकारितामा अभिवृद्धिमा सघाउ पुरयाउने कार्य पनि गरेको छ । जसको ताजा उदाहरण “Ayurveda and lAternative Medicine Guidelines of Preventive Measures and Management Protocol for COVId\ 19 in Nepal” हो । त्यसै गरि आयुर्वेद औषधिहरुको गुणस्तरीयता कायम गर्न यसै साल “गुणस्तरीय जडिबुटि भण्डारण दिग्दर्शन २०७६” बनाएको छ । त्यसै गरि परम्परागत उपचार पद्धतिमा लागेका उपाचारकहरुको नियमनकोलागि “ परम्परागत उपाचारकको मापदण्ड निर्देशिका” बन्नेक्रममा छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबल पक्षहरु
– हजारौ वर्ष पुरानो र समयको कसीमा अव्वल ठहरिएको ।
– “सबैकोलागि स्वास्थ्य” प्राप्तिकोलागि विश्व स्वास्थ्य संगठनले समेत आयर्वेद तथा वैकल्पिक चिकित्सा विद्याको प्रयोगलाई बढावा दिएको ।
– नसर्ने रोग व्यवस्थापनमा प्रभावकारी भएको अध्ययन अनुसन्धानले देखाएको ।
– स्वस्थय जीवन यापन तथा मानसिक एवम् समाजिक स्वास्थ्यको लागि दिनचर्या, ऋतुुचर्या, योग को विज्ञान ।
– देश भित्रकै जडिबुटि तथा कच्चा पदार्थको प्रयोग हुने ।
– स्वास्थय पर्यटनको समेत स्रोत ।
– उपचरात्मक, प्रतिरोधात्मक, सम्बर्धनात्मक स्वास्थय प्राप्ति हुने तथा प्रायः दुष्प्रभाव रहित एवम् अपुनर्भव चिकित्सा । एक रोगको चिकित्सा गर्दा अर्को रोग उत्पन्न हुदैँ नहुने ।
– स्वास्थय प्राप्तिको साथै जडिबुटि हरियो डलरको रुपमा रहेको ।
– पूर्वकर्म, पंचकर्म, रसायन तथा क्षार सूत्र जस्ता सेवाको लोकप्रियता ।
– न्यूद्रास्यूटिकल, कस्मास्यूटिकल तथा फर्मास्यूटिकल तीन वटै किसिमले प्रयोग ।
– प्राकृतिक चिकित्सा, योग, स्वाः रिग्पा, होमियोपैथिक, यूनानी आदि बाट समल चिकित्सा ।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका दुर्बल पक्षहरु
– राज्यको स्रोत साधन लगानीको हिसाबले प्राथमिकतामा नपरेको ।
– विशेषज्ञ तथा दक्ष जनशक्तिको अभाव तथा भएको जनशक्तिको उचित व्यवस्थापन नभएको ।
– अध्ययन अनुसन्धान मा कमी ।
– औषधि तथा कच्चा पदार्थको गुणस्तर निर्धाण तथा नियमनकोलागि छट्टै संयन्त्रको अभाव ।
– आयुर्वेद तथा वैकल्पिक चिकित्साका सेवाहरु राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली संग नजोडिएको ।
– अन्तर संस्थागत समन्वयको अभाव ।
– आधुनिक प्रविधिसंगको समन्वय र प्रयोगमा कमी ।
– विकास साझेदारहरुको रुचि नरहेको ।
– परम्परागत तथा अन्य विविध तहमा रहेका आयर्वेद तथा वैकल्पिक चिकित्सा का स्वास्थ्यकर्मीहरुको नियमनको अभाव ।
– विभिन्न निजि तथा व्यक्तिगत तहबाट भ्रामक तथा विस्मयकारी प्रचार प्रसार ।
– नेपाल आयुर्वेद फर्माकोपिया नभएको ।
– नेपालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सामा फर्माकोभिजिलेन्स प्रणाली विकसित नभएको ।
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सम्भावनाहरु
– नसर्ने रोग व्यवस्थापन तथा स्वस्थ्य जीवनशैलीको लागि विश्वकै ध्यान आयुर्वेद तथा वैकल्पिक चिकित्साका विद्या तिर मोडिएको ।
– देश भित्रै कच्चा पदार्थको रुपमा औषधजन्य वनस्पत्ति तथा सुगन्धित तेल जन्य वनस्पत्ति, तथा खनिजको प्रचूर उपलब्धता ।
– औषधजन्य तथा सुगन्धित तेल जन्य वनस्पत्ति, तथा खनिजको प्रशोधन पश्चात निकासीले समग्र अर्थतन्त्रमा नै सुधारको सम्भावना ।
– स्वास्थ्य पर्यटनबाट अर्थतन्त्रमा टेवा ।
– खाद्य सुरक्षाको प्रत्याभूति ।
– नागरिक आरोग्य तथा स्वस्थ्य जीवनशैलीको व्यवस्थापनले औसत आयुमा वृद्घि भई रोग लाग्ने दर र मृत्यु दरमा कमी आउने ।
चुनौतीहरु
– औषधजन्य तथा सुगन्धित तेल जन्य वनस्पत्ति, तथा खनिजको प्राकृतिक स्रोतको अनियन्त्रित दोहन ।
– औषधजन्य तथा सुगन्धित तेल जन्य वनस्पत्ति, तथा खनिजको विना प्रशोधन कौडीको दाममा निकासी ।
– औषधजन्य तथा सुगन्धित तेल जन्य वनस्पत्तिको यथार्थ पहिचान र यथार्थ आँकलनको अभाव ।
– औषधजन्य तथा सुगन्धित तेल जन्य वनस्पत्ति बारे कार्य गर्ने एक भन्दा बढी विभागहरु र तिनीहरु बिच समन्वयको अभाव ।
– अध्ययन, अनुसन्धानमा राज्यको उदासीनता ।
– आयुर्वेद तथा वैकल्पिक चिकित्साका सेवाहरु बारे प्रचार प्रसार तथा जनचेतनाको अभाव ।
– संघ तथा प्रदेश, प्रदेश तथा स्थानीय तहसम्म समन्वय गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्साको स्वतन्त्र संयन्त्रको अभाव ।
सुझावहरु
चिकित्सा तर्फ
– केन्द्रिय आयुर्वेद चिकित्सालयलाई विशिष्टिकृत सेवासहितको आयुर्वेद चिकित्सालय बनाउने ।
– पशुपति होमियोपैथिक अस्पताललाई थप दरबन्दी तथा शैया सहितको होमियोपैथिक तथा यूनानीको विशेषज्ञ अस्पतालको स्पमा विस्तार गर्ने ।
– राष्द्रिय आयुर्वेद तथा पञ्चकर्म केन्द्रको संगठनात्मक तथा व्यवस्थापकीय सर्वेक्षण गरि तत्काल रहेको भौतिक पूर्वाधार विस्तार गरि सेवा संचालन गर्ने ।
– प्राकृतिक चिकित्साकोलागि तत्कालकोलागि नरदेवी आयुर्वेद चिकित्सालयमा सम्बन्धित विषयका प्राविधिकको दरबन्दी थप गरि प्राकृतिक चिकित्सा सेवा पनि संचालनमा ल्याउने र पछि छुट्टै राष्द्रिय योग तथा प्राकृतिक चिकित्सालयको स्थापना गर्ने ।
– विभिन्न विषय विशेषज्ञ सहितको कम्तिमा ५० शैयायुक्त प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको स्थापना ।
– जिल्ला स्तरीय स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गरि कम्तिमा पन्द्रह शैयाको जिल्ला आयर्वेद तथा वैकल्पिक चिकित्सालय स्थापना ।
– आयुर्वेद औषधालय नभएको स्थानीय तहमा विद्यमान प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थपोष्ट वा स्वास्थ्य इकाईमा आयुर्वेद स्वास्थ्यकर्मी सहित आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा प्रवाह ।
– नयाँ निर्माण हुने पालिका स्तरीय आधारभूत अस्पतालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा इकाई पनि संचालन गर्ने ।
– हाल संचालनमा रहेका विशेषज्ञ अस्पतालको रुपमा रहेका संघ तथा प्रादेशिक अस्पतालहरुमा समेत आयुर्वेद तथा वैकल्पिक चिकित्सा इकाई पनि संचालन गर्ने ।
– सैनिक अस्पताल, प्रहरी अस्पताल, निजामति अस्पतालमा समेत आयुर्वेद तथा वैकल्पिक चिकित्सा इकाई पनि संचालन गर्ने ।
स्वास्थ्य सम्बर्धन तर्फ
– स्वस्थ्य जीवनशैली तथा नागरिक आरोग्य कार्यक्रम संचालनको लागि स्थानीय तहमा तथा वडा तहसम्म कार्यक्रम विस्तार गर्ने ।
– विद्यालय शिक्षामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा, योग आदिको पाठ्यक्रम समावेश ।
– हाल संचालनमा रहेका जेष्ठ नागरिक स्वास्थ्य सम्बर्धन, स्तनपायी आमा तथा नवजात शिशु स्वास्थ्य सम्बर्धन कार्यक्रमको पहँच विस्तार ।
उच्चस्तरीय जनशक्ति व्यवस्थापन तर्फ
– राष्द्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रतिष्ठानको स्थापना गर्ने । यसकोलागि नरदेवी आयुर्वेद चिकित्सालय, पशुपति होमियोपैथिक चिकित्सालय समेत संलग्न गर्न सकिन्छ ।
– आयुर्वेद क्याम्पस लाई आयुर्वेद अध्ययन संस्थानको रुपमा विकास र विस्तार ।
– औषधजन्य तथा सुगन्धित तेल जन्य वनस्पत्ति, तथा खनिजको संरक्षण तथा व्यवस्थापन तर्फ ः
– द्रव्यगुणविज्ञ, वनस्पत्ति विज्ञ, वन वज्ञानको विज्ञ, जडिबुटि व्यवपारी, जडिबुटि र्सकलक, स्थानीय प्रतिनिधि, औषधजन्य वनस्पत्तिहरुको उद्योगी सहितको सहभागितामा अधिकार सम्पन्न जडिबुटि प्राधिकरण वा औषधजन्य तथा सुगन्धित तैलजन्य वनस्पत्ति बोर्डको गठन गर्ने ।
– प्रत्येक प्रदेशमा औषधजन्य तथा सुगन्धित तैलजन्य वनस्पत्तिहरुको संकलन, प्रशोधन तथा उत्पादन केन्द्रको स्थापना ।
– स्थानीय स्तरमा जडिबुटिको पकेट क्षेत्र पहिचान गरि स्थानीय स्तरमा जडिबुटिहरुको संकलन गरि समान्य प्रशोधन जस्तै सफा गर्ने, सुकाउने आद गरि ग्रेडिङ्ग गर्ने र सुगन्धित तेलजन्य वनस्पतिहरुबाट तेल निकाल्ने, चिया तथा अन्य पेयजन्य पदार्थ उत्पादन ।
– जिल्ला स्तरमा शीत भण्डार सहितको व्यवस्थित संकलन, भण्डारण केन्द्र बनाउने ।
– प्रदेश स्तरीय संकलन, भण्डारण, प्रशोधन तथा उत्पादन केन्द्रको स्थापना जहाँ स्थानीय स्तरबाट उत्पादन भइआएको सुगन्धित तेलबाट सौन्दर्य प्रसाधन बनाउने । न्यूटा्रस्यूटिकल उत्पादहरु बनाउने ।
– दर्ता जग्गा, करार खेती, सरकारी खेती, सामुदायिक तथा निजी बनमा जडिबुटी खेती विस्तार गरी जडिवुटी संरक्षण र सम्बर्धनमा टेवा पुर्रयाउने तथा जडिबुटी कृषक समूह तथा जडिबुटी सहकारी संस्था गठन निर्देशिका जारी गरि लागू गर्ने र त्यस्ता समूहहरुलाई प्रविधि सहयोग तथा आर्थिक अनुदानको व्यवस्था गर्ने
– परम्परागत रुपमा रहेका आयुर्वेद तथा जडिबुटि सम्बन्धि ज्ञानको अभिलेखिकरण सम्बन्धमा
– परम्परागत आयुर्वेद कर्मी को लगत संकलन, अभिलेखिकरण, तिनीहरुको ज्ञानको अभिलेखिकरण तथा त्यसमा अध्ययन अनुसन्धान तथा तिनिहरुलाई आवश्यक तालीम ।
– आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि हस्तलिखित ग्रन्थ तथा ऐतिहासिक ग्रन्थहरुको माइक्रोफिल्म तथा अन्य विधिबाट संरक्षण गर्ने ।
स्वास्थ्य पर्यटन
– पंचकर्म, योग, प्राकृतिक चिकित्सा सहितको केन्द्र स्थापना गरी स्वास्थय सम्बर्धन, संरक्षणका विशेष प्याकेजहरु संचालित गरि पर्यटकहरु आर्कषित गर्ने तथा पर्यटकहरुको नेपाल बसाइ लम्ब्याउने ।
– नमूना जडिबुटि उद्यान निर्माण गरि शैक्षिक पर्यटनमा टेवा ।
अध्ययन अनुुसन्धान तर्फ
– राष्द्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रको संगठनात्मक तथा व्यवस्थापकीय सर्बेक्षण तत्काल पूरा गरि सो अनुसारको जनशक्ति व्यवस्थापन गरि अनुसन्धानकार्य अगाडि बढाउने ।
– प्रदेश स्तरीय आयुर्वेद तथा वैकल्पिक चिकित्सा अनुसन्धान केन्द्र स्थापना ।
– अनुसन्धानमा लगानी वृद्घी गरि प्रोत्साहन दिने ।
गुणस्तर तथा नियमन तर्फ
– आयुर्वेद तथा वैकल्पिक चिकित्साका औषधिहरु, कच्चा पदार्थहरुको गुणस्तर तथा नियमन गर्न एउटा छुट्टै आयुर्वेद तथा वैकल्पिक औषधि गुणस्तर तथा नियमन केन्द्र संघीय स्तरमा तथा सो को इकाई प्रदेश स्तरीय आयुर्वेद तथा वैकल्पिक चिकित्सा अनुसन्धान केन्द्रमा वा औषधि व्यवस्था विभाग मातहतका कार्यालयमा गठन गर्ने ।
समन्वय तर्फ
– आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नरदेवी आयुर्वेद चिकित्सालय, सिंहदरबार बैद्यखाना, पशुपति होमियोपैथिक चिकित्सालय, राष्द्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र सबैलाई एउटै छातामा ल्याउने गरि व्यवस्थापन गर्ने ।
– प्रदेश अन्तर्गत सबै आयुर्वेद तथा वैकल्पिक चिकित्सा संस्थाहरुलाई समन्वय गर्न अलग्गै प्रदेश आयर्वेद निर्देशनालय गठन गर्ने ।
अन्य सझावहरु
– नेपाल आयुर्वेदि फर्माकोपिया तथा नेपाल आयुर्वेद फर्मूलरीको निर्माण ।
– राष्द्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि फर्माकोभिजिलेन्सको राष्द्रिय केन्द्र तोकी हाललाई आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालकीर्तिपुर, नरदेवी आयुर्वेद चिकित्सालय, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङ्ग, पशुपति होमियोपैथिक अस्पताल लाई फर्माकोभिजिलेन्स रिपोर्टिङ्ग सेन्टरको रुपमा तोकी कार्य अगाडि बढाउने ।
– औषधि व्यवस्था विभागमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा गठन ।
सारांश
लामो इतिहास भएको तथा समयको कसीमा खरो उत्रेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको विकासको लागि पहिलो शर्त राज्यको प्राथमिकतामा पर्न जरुरी छ । यसको विकास तथा विस्तारकोलागि भविष्यको बाटो निर्दिष्ट गर्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि राष्द्रिय नीति बन्न जरुरी छ । दुई दशक अगाडि बनेको “राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२” समेतको केहि बुंदाहरु मात्र कार्यान्वयन भएको र केहि अझसम्म कार्यान्वयन नभएको सन्दर्भ तथा संविधानले नै आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई आधारभूत आवश्यकताको रुपमा प्रत्याभूत गरेको तथा देशमा औषधजन्य तथा सुगन्धित तैलजन्य वनस्पत्तिहरुको प्रचूर सम्भावना भएको तथा यसको समुचित प्रयोगले समग्र राष्ट्र कै अर्थतन्त्रमा टेवा पुग्ने भएकोले आयुर्वेद तथा वैकल्पिक चिकित्साको वर्तमान संरचनाहरुको सुदृढिकरण तथा भविष्यमा थप संरचनाहरुको व्यवस्थापन गरि जनताको जीवन स्तर उकास्नमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सक्षम हनेछ । यसकोलागि तीन वटै तहका सरकारहरुको प्राथमिकतामा यो क्षेत्र पर्न जरुरी छ । अगामी दिनहरुमा संघीय सरकार तथा प्रदेश सरकारहरुले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि बनाउने नीति तथा यस क्षेत्रमा गर्ने लगानीले नै आयुर्वेद तथा वैकल्पिक चिकित्साको भविष्य निर्धारण गर्ने छ ।