काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको रकम लगानी गर्दा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कोषको लगानीलाई राजनीतिक स्वार्थबाट मुक्त राख्ने सरकारको नीति रहेको बताए।
उनले विगतमा कर्मचारी सञ्चय कोषको रकमबाट विमान खरिदमा गरिएको लगानी अपेक्षाअनुसार फलदायी हुन नसकेको उदाहरण प्रस्तुत गर्दै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णयलाई न्यून गर्न सरकार सचेत रहेको स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेका अनुसार कर्मचारी सञ्चय कोषमा हाल ७०० अर्ब रुपैयाँभन्दा बढी रकम रहेको छ। कर्मचारीको योगदानबाट संकलित ठूलो रकमलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले रकम जम्मा गरेर मात्र राख्नु कोषको उद्देश्य नभएको बताए।
उनले कोषको नेतृत्व र सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यता तथा क्षमतालाई प्राथमिकता दिइएको दाबी गरे। कोषको प्रशासक छनोटसमेत प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको उनको भनाइ छ।
विधेयकमाथिको छलफलका क्रममा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना तथा महिला सहभागितालगायत विषयमा सांसदहरूले उठाएका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधनमार्फत सम्बोधन गर्न सकिने अर्थमन्त्री वाग्लेले बताए।
बैठकमा अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ।