काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको यसअघिको रेटिङलाई यथावत् कायम राखेको हो।
यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षा रहेको र कम्पनीमा मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल आर्जित बीमाशुल्क ५ अर्ब ९ करोड ६० लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको ४ अर्ब ५३ करोड ९० लाख रुपैयाँको तुलनामा करिब १२ प्रतिशतले बढी हो। नवीकरण बीमाशुल्क संकलनमा भएको वृद्धिले कुल आर्जित बीमाशुल्क बढाउन सहयोग गरेको कम्पनीले जनाएको छ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क करिब १३ प्रतिशतले वृद्धि भएर ४ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ थियो।
कम्पनीले बीमितको प्रतिफल सुरक्षित गर्ने उद्देश्यले जीवन बीमा कोषको आकार बढाएर १२ अर्ब ९३ करोड १० लाख रुपैयाँ पुर्याएको छ।
अन्डरराइटिङ नतिजामा सुधार आए पनि जीवन बीमा कोषमा गरिएको उच्च रकम हस्तान्तरणका कारण कम्पनीको करअघिको नाफा घटेको छ। अघिल्लो आर्थिक वर्षमा ५८ करोड २० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ३६ करोड ६० लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ।
जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी निर्देशन, २०२४ अनुसार गत आर्थिक वर्षमा कम्पनीको सोल्भेन्सी मार्जिन २.४४ गुणा रहेको छ।
कम्पनीले कुल लगानीको करिब ५८ प्रतिशत हिस्सा विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती तथा ब्याज प्राप्त हुने निक्षेपमा राखेको जनाएको छ। यस्तो लगानीले कम्पनीलाई पर्याप्त तरलता कायम राख्न सहयोग पुर्याएको छ।
सेवा विस्तारका क्रममा कम्पनीले देशका सातै प्रदेशका ७० जिल्लामा ४८ शाखा, १०२ उपशाखा र ३० हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीको अध्यक्षमा अनुज केयाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजकुमार अर्याल रहेका छन्।