काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूले ५४ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा परम्परागत निर्जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनीले साउनमा कुल ५४ करोड १ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।
समीक्षा अवधिमा निर्जीवन बीमकहरूले कुल २ लाख ५४ हजार ६०७ वटा बीमालेख जारी गरेका छन्। तथ्यांकले निर्जीवन बीमा बजारमा पुराना तथा स्थापित कम्पनीहरूको वर्चस्व कायमै रहेको देखाएको छ। कुल व्यवसायमा परम्परागत बीमा कम्पनीहरूको हिस्सा अत्यधिक ठूलो छ भने नयाँ प्रवेश गरेका लघु निर्जीवन बीमा कम्पनीहरू विस्तारको प्रारम्भिक चरणमै देखिएका छन्।
साउनमा १४ वटा परम्परागत निर्जीवन बीमा कम्पनीले २ लाख २९ हजार ५९९ वटा बीमालेख जारी गरी ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यता चार वटा लघु निर्जीवन बीमा कम्पनीले २५ हजार ८ वटा बीमालेख जारी गर्दा ७३ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
कम्पनीगत रूपमा हेर्दा साउन महिनाको निर्जीवन बीमा व्यवसायमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अगाडि देखिएको छ। कम्पनीले एक महिनामै २७ हजार ८७१ वटा बीमालेख जारी गर्दै ५ करोड ६२ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। कम्पनीले २२ हजार ९६४ वटा बीमालेखमार्फत ५ करोड ५३ लाख २६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै एनएलजी इन्स्योरेन्सले १९ हजार ७५६ वटा बीमालेख जारी गरी ५ करोड ३४ लाख ६७ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ।
अग्रणी कम्पनीमध्ये शिखर इन्स्योरेन्सले साउनमा ५ करोड १२ लाख २ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड ६७ लाख ६५ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ करोड ४७ लाख १३ हजार रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ४३ लाख ७० हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।
अन्य कम्पनीतर्फ नेको इन्स्योरेन्सले ३ करोड ८० लाख ८५ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ करोड ३२ लाख ३४ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले २ करोड ७० लाख २३ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ करोड ५२ लाख ७६ हजार रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले २ करोड ४० लाख ३१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १ करोड ९० लाख २२ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ करोड ४० लाख ६८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
नयाँ लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी व्यवसाय गरेको छ। कम्पनीले साउनमा २२ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सले १७ लाख ८८ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १७ लाख ६७ हजार रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १४ लाख ९० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
नयाँ कम्पनीहरूको कुल व्यवसाय अझै सानो भए पनि बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा आएका लघु निर्जीवन बीमकहरूले आफ्नो व्यवसाय विस्तार गर्न थालेको तथ्यांकले देखाउँछ।
निर्जीवन बीमा व्यवसायलाई बीमालेखको प्रकारका आधारमा हेर्दा सम्पत्ति बीमा सबैभन्दा ठूलो व्यवसाय क्षेत्र बनेको छ। साउनमा सम्पत्ति बीमाबाट मात्रै १६ करोड ५७ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यस्तै मोटर बीमाबाट १२ करोड २२ लाख ९६ हजार रुपैयाँ, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट ७ करोड ५८ लाख ७८ हजार रुपैयाँ र विविध बीमाबाट ५ करोड ९६ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क उठेको छ।
यसैगरी सामुद्रिक बीमाबाट ४ करोड २९ लाख १० हजार रुपैयाँ, स्वास्थ्य बीमाबाट ३ करोड २३ लाख २५ हजार रुपैयाँ र कृषि तथा बाली बीमाबाट १ करोड ९२ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
यता हवाई बीमाबाट १ करोड ३४ लाख ४७ हजार रुपैयाँ, लघु बीमाबाट ७३ लाख २८ हजार रुपैयाँ र दायित्व बीमाबाट १२ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
प्रदेशगत रूपमा हेर्दा निर्जीवन बीमा व्यवसायको ठूलो हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको छ। साउनमा देशभर संकलन भएको ५४ करोड १ लाख ५२ हजार रुपैयाँमध्ये बागमती प्रदेशबाट मात्रै ३८ करोड ६ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो कुल व्यवसायको ७० प्रतिशतभन्दा बढी हिस्सा हो।
बागमतीमा साउन महिनामा १ लाख २३ हजार ३८९ वटा बीमालेख जारी भएका छन्। आर्थिक गतिविधि, उद्योग–व्यवसाय, सवारीसाधन तथा बीमा कम्पनीका मुख्य कार्यालयहरू ठूलो संख्यामा बागमतीमै केन्द्रित भएकाले पनि यस प्रदेशको बीमा व्यवसायमा ठूलो हिस्सा देखिएको हो।
बागमतीपछि लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको छ। लुम्बिनीबाट ३९ हजार ९९ वटा बीमालेखमार्फत ४ करोड २७ लाख १७ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। त्यस्तै कोशी प्रदेशबाट २८ हजार ९७० वटा बीमालेखमार्फत ४ करोड १९ लाख ६९ हजार रुपैयाँ र मधेश प्रदेशबाट २६ हजार ५१९ वटा बीमालेखमार्फत ३ करोड ५३ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ।
गण्डकी प्रदेशमा २० हजार ८९६ वटा बीमालेख जारी हुँदा २ करोड ५५ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। सुदूरपश्चिम प्रदेशमा ११ हजार ६०० वटा बीमालेखमार्फत ९९ लाख १ हजार रुपैयाँ व्यवसाय भएको छ।
प्रदेशगत रूपमा सबैभन्दा कमजोर अवस्था कर्णाली प्रदेशको देखिएको छ। कर्णालीमा साउन महिनामा जम्मा ४ हजार १३४ वटा बीमालेख जारी भएका छन् भने त्यसबाट ३९ लाख ८२ हजार रुपैयाँ मात्रै बीमाशुल्क संकलन भएको छ।
समग्रमा साउनको तथ्यांकले निर्जीवन बीमा व्यवसायमा सम्पत्ति र मोटर बीमा मुख्य आधार बनेको देखाएको छ। साथै, कुल व्यवसायको ठूलो हिस्सा बागमती प्रदेशमै केन्द्रित हुनु भनेको देशका अन्य प्रदेशमा निर्जीवन बीमाको पहुँच विस्तारका लागि अझै ठूलो सम्भावना रहेको संकेत पनि हो। नयाँ लघु निर्जीवन बीमा कम्पनीहरूको प्रवेशसँगै ग्रामीण तथा कम पहुँच भएका क्षेत्रमा बीमाको पहुँच विस्तार गर्न सके आगामी दिनमा बजारको भौगोलिक वितरण थप सन्तुलित बन्न सक्ने देखिन्छ।