काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ करोड २५ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो। सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढेको हो।
पुस मसान्तसम्ममा १९ अर्ब ४३ करोड सापटी लिई २१ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको यस लघुवित्तले सो अवधिसम्ममा ५३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११ करोड ६७ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७ करोड ५ लाख रुपैयाँ बढेर ४४ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०।०४ प्रतिशतबाट बढेर ०।६६ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ४ करोड १६ लाख रुपैयाँ छुट्याएको छ। पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ८२ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ। १ अर्ब २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७२ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।