काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (एसकेबीबीएल) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटे पनि संस्थाको वितरणयोग्य नाफा, कुल सम्पत्ति र कर्जा विस्तार भने सकारात्मक देखिएको छ।
सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८७ करोड ५० लाख रुपैयाँको तुलनामा यो २५.३६ प्रतिशत कम हो।
संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १ अर्ब २७ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, सञ्चालन मुनाफा पनि १ अर्ब २७ करोड रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा झरेको छ।
नाफामा गिरावट आए पनि संस्थाको लाभांश वितरण गर्ने क्षमता भने बलियो देखिएको छ। नियमनकारी समायोजनपछि संस्थाको कुल वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ३३ रुपैयाँ ४६ पैसा कायम भएको छ। यसले चालु आर्थिक वर्षमा पनि शेयरधनीले आकर्षक लाभांश पाउने सम्भावना रहेको संकेत गरेको छ।
वित्तीय आधार पनि विस्तार भएको छ। संस्थाको चुक्ता पूँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँबाट बढेर ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ कायम भएको छ।
साना किसान तथा अन्य सहकारीलाई प्रवाह गरिएको नेट कर्जा ३४ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३५ अर्ब ३९ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, संस्थाको कुल सम्पत्ति पनि ४१ अर्ब ५० करोड रुपैयाँबाट बढेर ४१ अर्ब ९९ करोड २४ लाख रुपैयाँ पुगेको छ।
नाफा घटे पनि पूँजी, कर्जा विस्तार, कुल सम्पत्ति तथा वितरणयोग्य नाफाको अवस्था सन्तोषजनक रहेकाले संस्थाको वित्तीय आधार अझै बलियो रहेको वित्तीय विवरणले देखाएको छ।