free website hit counter

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘ए’ रेटिङ पुनः पुष्टि

beemaadmin
२०८३ श्रावण १५, शुक्रबार

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन क्षमता तथा बीमा दाबी भुक्तानी गर्ने सामर्थ्यलाई पुनः पुष्टि गर्दै इक्रा नेपालले कम्पनीको ‘ए’ जारीकर्ता रेटिङ यथावत् कायम राखेको छ। साथै, कम्पनीलाई यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ बाट पनि हटाइएको छ।

इक्रा नेपालका अनुसार ‘ए’ रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता, न्यून जोखिम तथा सन्तोषजनक समग्र साख रहेको संकेत गर्छ। पछिल्लो समय कम्पनीले देखाएको वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा बलियो पुनर्बीमा संरचनाका कारण रेटिङ यथावत् राखिएको हो।

प्रतिवेदनअनुसार २०८२ साल भदौमा भएको दङ्गाबाट उत्पन्न बीमा दाबीको प्रभाव कम्पनीले प्रभावकारी रूपमा व्यवस्थापन गर्न सफल भएकाले निगरानी सूचीबाट हटाउने निर्णय गरिएको हो। इक्रा नेपालले कम्पनीको तरलता र पुँजीगत आधार दुवै बलियो रहेको निष्कर्ष निकालेको छ।

२०२६ जुलाई २२ सम्म कम्पनीले ५ अर्ब ७२ करोड ३० लाख रुपैयाँ बराबरका बीमा दाबी प्राप्त गरेको थियो। तीमध्ये कम्पनीले आफैं व्यहोर्नुपर्ने हिस्सा करिब ११ प्रतिशत (६३ करोड ६० लाख रुपैयाँ) मात्रै रहेको छ। नियमित बीमा व्यवसायबाट प्राप्त ५४ करोड ४० लाख रुपैयाँ बराबरको अन्डरराइटिङ नाफा र लगानी आम्दानीले उक्त दायित्व व्यवस्थापन गर्न सहयोग पुग्ने इक्राको अनुमान छ।

जोखिम व्यवस्थापनतर्फ कम्पनीले आफ्नो वहन क्षमताभन्दा माथिका दाबीका लागि प्रभावकारी पुनर्बीमा व्यवस्था गरेको छ। पर्याप्त खुद सम्पत्ति, बलियो तरलता र पुनर्बीमा सुरक्षाका कारण कम्पनीले सबै दायित्व सहज रूपमा पूरा गर्न सक्ने क्षमता रहेको प्रतिवेदनमा उल्लेख छ।

जोखिममा आधारित पुँजी प्रणालीअनुसार कम्पनीको नियामकीय पुँजी पर्याप्तता अनुपात ३.८५ गुणा पुगेको छ, जुन नियामकले तोकेको न्यूनतम १.३ गुणाभन्दा निकै माथि हो। अघिल्लो वर्ष यो अनुपात ३.१८ गुणा रहेको थियो। त्यस्तै, मध्य अप्रिल २०२६ सम्म कम्पनीको तरल सम्पत्ति र खुद बीमा दायित्वबीचको अनुपात ३.१ गुणा रहेको इक्राले जनाएको छ।

कम्पनीको पुनर्बीमा संरचना पनि बलियो रहेको उल्लेख गर्दै इक्राले सामान्य बीमा दाबीका साथै प्राकृतिक प्रकोप तथा ठूलो क्षतिका जोखिम व्यवस्थापन गर्न सक्षम व्यवस्था गरिएको जनाएको छ। कम्पनीको प्रपोर्सनल पुनर्बीमाका लागि बेस्ट मेरिडियन इन्टरनेसनल इन्स्योरेन्स कम्पनी र नन–प्रपोर्सनल तथा विपत्तिजन्य जोखिमका लागि हानोभर रिसँग पुनर्बीमा सम्झौता रहेको छ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच २०२३ मा भएको एकीकरणपछि स्थापना भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले हाल देशभर १२८ शाखामार्फत सेवा प्रदान गरिरहेको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा कम्पनीले ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने कुल सम्पत्ति १२ अर्ब ८९ करोड १० लाख रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार