काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ।
बुधबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुन थालेका छन्।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू उपस्थित भएका छन्।
रास्वपाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि बैठकमा आमन्त्रण गरेको जनाएको छ।
बैठकमा सुनसरी घटनाको पछिल्लो अवस्था, त्यसले सिर्जना गरेको राजनीतिक तथा सामाजिक परिस्थिति र समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।