काठमाडौँ । सुरक्षाको जोखिम नभएका मानिस पनि राज्यको साधनस्रोतको दुरुपयोग गरी पहुँचका भरमा सुरक्षाकर्मी राखेर अरुलाई देखाइरहेका हुन्छन् । यस्तै दुरुपयोग रोक्ने प्रयास पटक पटक नभएका होइनन् तर अहिलेसम्म सुरक्षाकर्मीको अनधिकृत प्रयोग रोक्ने तयारी भएको छ । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी घरमा राखेमा उनीहरूको तलबलगायतका सेवा–सुविधा सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने भएको छ ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा अनावश्यक सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्ने उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो । सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले कायविधि गोप्य राखेको छ । व्यक्तिगत सुरक्षाका नाममा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मीको दुरुपयोग भइरहेको गृह मन्त्रालयको आकलन छ ।
उच्चपदस्थ व्यक्तिहरूबाट सुरक्षाकर्मीको दुरुपयोग बढेका कारण यसलाई रोक्न यस्तो व्यवस्था गरिएको बताइएको छ । यतिसम्मकी पूर्व विशिष्टहरुले श्रीमती र छोराछोरीका लागि समेत प्रहरीबाट चालक राखेको पाइएको छ। पूर्वप्रहरी अधिकारीले पनि नियमविपरीत चालक तथा घरेलु कामदारका रूपमा सुरक्षाकर्मीलाई घरमा राखेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा यस्तो समस्या छ । गृह मन्त्रालय स्रोतका अनुसार नयाँ कार्यविधिमा कस्ता व्यक्तिले कति सुरक्षाकर्मी पाउने भन्ने प्रस्ट व्यवस्था गरिएको छ ।
नयाँ कार्यविधिले पहिलोपटक पूर्वराजा ज्ञानेन्द्रलाई दिने सुरक्षाबारे प्रस्ट रूपमा उल्लेख गरेको गृह स्रोतको भनाइ छ । उनलाई अहिले सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको छ । पूर्वराजाको व्यक्तिगत सुरक्षा र निर्मलनिवासको सुरक्षामा डिएसपीको कमान्डमा छुट्टाछुट्टै टोली खटिएका छन् ।