काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले बुधबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र पेश गर्दा खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित दर स्पष्ट उल्लेख गर्नुपर्नेछ। कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १६५ रुपैयाँ तोकेको छ भने सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लिलामी प्रक्रियामा सहभागी हुन न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीले प्रचलित नियम तथा प्रक्रिया अनुसार प्राप्त बोलपत्रहरूको मूल्यांकन गरी सेयर बाँडफाँड गर्ने जनाएको छ।