काठमाडौं । चेक अनादर तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन्।
काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर भएको तथा ठगीसम्बन्धी आरोपमा शनिबार पक्राउ परेका साहलाई आइतबार हाजिरी जमानीमा रिहा गरिएको हो।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने शर्तमा साहलाई परिवारका सदस्यको जिम्मा लगाएर छाडिएको हो।
प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानका लागि बोलाउँदा उपस्थित हुने प्रतिबद्धतासहित साहलाई हालका लागि हाजिरी जमानीमा रिहा गरिएको प्रहरीको भनाइ छ।