free website hit counter

सेयर लगानीका लागि सुखद् बनेको बर्ष २०२०

beemaadmin
२०७७ पुष १७, शुक्रबार

विगतका झण्डै चार वर्ष भन्दा बढी घटेको बजार लगानी कर्ताका लागि निराशाका बर्षहरु भए तापनि कोभिड–१९ को माहामारी झेलेको बर्ष सन् २०२० भने अन्य व्यवसायका लागि नराम्रो भए तापनि तुलनात्मक रुपमा सेयर लगानीकर्ताका लागि भने अन्त्यत सुखद् नै रह्यो ।
एकातिर लगानीकर्ता, सेयर ब्रोकरलगायत यस क्षेत्रसँग आवद्धहरुलाई परेको कोभिडको त्रास अनि बजार लामो समयसम्म बन्द त्यसमाथि वियरिस ट्रेन्डमा रहेको बजार खुल्ने वित्तिकै कतिसम्म तल जान्छ भन्ने चिन्ताले केही समय अवश्य पनि अन्य व्यवसायिक क्षेत्र झै सेयर लगानीको क्षेत्रमा पनि नकारात्मक प्रभाव पारेकै हो ।

नेप्से परिसूचकाङ्कलाई हेर्ने हो भने सन् २०२० को जनवरी १ का दिन १ हजार १६६.७८ को बिन्दूमा रहेको नेप्सेमा बर्षभरीमा ९२०.४९ अङ्कको उछाल आएर बर्षको अन्तिम दिन डिसेम्बर ३१ मा २५.२१ अङ्कको बृद्धि सहित अलटाइम हाइ २ हजार ८७.२७ पुग्न सफल भएको छ ।
नेप्से सन् २०२० मा नेप्से सूचक नयाँ ऐतिहासिक बिन्दूमा पुगेको मात्र होइन कारोबारका हिसाबले पनि रेकर्ड कायम गरेको छ । औषत निकै कम कारोबार हुने नेपाली बजारमा हाल अनलाइन कारोबार व्यापक हुने गरेकाले एक दिन नौ अर्बभन्दा माथिको रकर्ड कायम ग¥यो भने औषद कारोबार पनि दैनिक पाँच अर्बको हाराहारीमा हुन थालेको छ । नेप्सेमा २०२० को अन्तिम दिन विहीबारको कारोबार पनि पाँच अर्ब ७० करोडको भएको छ । त्यसको अतिरिक्त सन् २०२० मा नेपाली सेयर बजारमा प्राथमिक सेयर बजारमा लगानीकर्ताको उल्लेख्य सहभागिता लगायत बजार अन्य थुप्रै कैयन रेकर्ड कायम गर्न सफल भएको छ ।

पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक उथलपुथलले लगानीकर्ता केही डराएका आत्तिएको भए तापनि व्याजदर न्यून भएको सन्दर्भमा राजनीतिक प्रभाव खासै नपर्ने देखिएको छ । त्यसमा पनि राजनीतिक रुपमा केही बाधा अडचन भए तापनि सरकार उही हुनुले नीतिमा खासै परिवर्तनको सम्भावना कम नै छ । त्यसले पनि लगानीकर्ताको बजारप्रतिको विश्वास कायमै रहने देखिन्छ । आगामी बैंशाखको चुनाव हुने नहुने अनि संसद पुनस्र्थापना हुने÷नहुने विषयले केही साइडवेजको मार्ग लिन सक्ने भए तापनि बजारको बुलिस तर्फको निरन्तरता भने कायमै हुने देखिन्छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको प्रतिफल घोषणा र वितरण पश्चात आगामी फागुन चैतमा केही करेक्सनको सम्भावनालाई भने नकार्न सकिँदैन ।

सन् २०२० सेयर बजारमा सूचना र प्रविधिको प्रयोगको हिसाबले पनि सुखद् बर्ष रह्यो । यस बर्ष बजार प्रविधि मैत्री बनेको उदाहरण नै देखियो । नेप्सेमा अनलाइन कारोबार प्रणाली सुरु भएको निकै समय हुँदा पनि कारोबार गर्नेको सङख्या न्यून थियो । अनेक प्रयत्नले पनि त्यसलाई बढाउन सकिएको थिएन । धेरै लगानीकर्ता ब्रोकर कार्यालयमै जाने र भुक्तानीका लागि पनि चेक मै रमाएको अवस्था थियो । उक्त सन्दर्भलाई चिर्दै कोभिड–१९ ले नयाँ आयाम थपिदिएको छ । जुन बाध्यात्मक पनि रह्यो । हाल डिम्याट गर्ने, प्राथमिक सेयरमा आस्वा मार्फत लगानी गर्ने र घर अनि कार्यालयबाटै अनलाइन मार्फत सेयर कारोबार गर्ने अनि भुक्तानीका लागि कनेक्ट आइपीएस जस्ता विद्युतीय भुक्तानीको व्यापक प्रयोग गर्ने लगानीकर्ता ह्वात्तै बढेको अवस्था छ ।

सन् २०२१ मा नेपाली सेयर बजार सुधार लागि तय भएका र लगानीकर्ताले समेत समस्या पहिचान गर्दै सुधारका लागि दिएको ५८ बुँदे विषय अन्तर्गत विदेशी लगानीकर्तालाई शेयर बजार खुला गरिनुपर्ने, बजारमा कारोबारका अन्य विविध सम्भावनाहरु पनि बढाउनुपर्ने, गैरआवासीय नेपालीका लागि बजारमा एनआरएन कार्डको आधारमा नै लगानी गर्न दिनुपर्ने, नेप्सेको कारोबार प्रणालीमा सुधार गर्नुपर्ने, कारोबारका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने जस्ता थुप्रै कार्यलाई भने सम्वन्धित निकायले द्रुत गतिमा अघि बढाउनुपर्ने आवश्यकता भने देखिन्छ ।

सेयर खरिद विक्रीका लागि अनलाइन कारोबार गर्नेको संख्या दिन प्रतिदिन बढ्दै जानु, सेयर कर्जाको व्याजदरमा कमी आउनु, निक्षेपको व्याजदर न्यून हुनु, कोभिड कम नभएको कारण अन्य ब्यवसायिक सम्भावना कमै भएको अवस्था, तरलताको अवस्था सहज हुनु, ब्रोकर कमिशन कम हुनु, प्रतिफलका हिसाबले नेपाली सेयर बजार अन्य देशको तुलनामा अझै पनि राम्रो प्रतिफल दिन सक्ने अवस्थामा रहनु जस्ता थुप्रै कारणले सन् २०२१ को बर्ष पनि सेयर लगानीका हिसाबले सुखद हुने सहजै अनुमान गर्न सकिन्छ । अझ भन्ने हो भने राजनीतिक हिसाबले अनि कोभिडका कारण मुलुकमा ठूलो अनिष्ट नआउने हो भने सेयर लगानी र प्रतिफलका हिसाबले यस बर्ष बजारले छलाङ् मादै नयाँ नयाँ उचाइ बनाउने निश्चित छ ।

सम्बन्धित समाचार