free website hit counter

स्वास्थ्य बीमा बोर्डले ३८३ स्वास्थ्य संस्थालाई २ अर्ब १ करोड भुक्तानी गर्‍यो

beemaadmin
२०८३ भाद्र २६, शुक्रबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका ३८३ वटा स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ।

बोर्डले विभिन्न जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएर सेवा दिएका सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो। स्वास्थ्य संस्थाले बीमितलाई उपलब्ध गराएको सेवाबापत पेस गरेका दाबीमध्ये स्वीकृत रकम भुक्तानी गरिएको बोर्डले जनाएको छ।

बोर्डको निर्णयअनुसार भुक्तानी हुन बाँकी रहेको वैशाखसम्मको स्वीकृत दाबी रकम सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पतालको बैंक खातामा पठाइएको हो।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई दाबी प्रमाणीकरण र स्वीकृतिपछि बोर्डले चरणबद्ध रूपमा रकम भुक्तानी गर्दै आएको छ। पछिल्लो भुक्तानीसँगै सेवा प्रदायक संस्थाले लामो समयदेखि पाउन बाँकी रहेको स्वीकृत दाबी रकममध्ये ठूलो हिस्सा प्राप्त गरेका छन्।

सम्बन्धित समाचार