काठमाडौँ । आर्थिक अभागमा गुज्रिएको सरकारको मअत्वाकांक्षी योजना स्वास्थ्य बीमा कार्यक्रमलाई प्राण भर्ने प्रयासमा सरकार लागेको छ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्रारम्भ गरेकी छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् । स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।