काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी दायित्व सरकारले पूरा गरेको छ।
स्वास्थ्य बीमा बोर्डले असार महिनाको ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई तिर्नुपर्ने स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको जनाएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमाको भुक्तानीलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएकी छन्। अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी दायित्व पूरा हुनु स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण प्रगति भएको उनको भनाइ छ।
मन्त्री मेहताका अनुसार स्वास्थ्य बीमा नागरिकको स्वास्थ्य उपचारमा पहुँच र आर्थिक सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यक्रम हो। त्यसैले सेवा प्रदायक स्वास्थ्य संस्थालाई समयमै भुक्तानी गर्ने व्यवस्था प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताइन्।
असारको भुक्तानीसँगै अघिल्लो आर्थिक वर्षसम्म स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक संस्थालाई भुक्तानी गर्न बाँकी रहेको दायित्व पूरा भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन दाबी व्यवस्थापन र भुक्तानी प्रक्रियालाई नियमित तथा व्यवस्थित बनाउने कामलाई प्राथमिकता दिइएको छ। सेवा प्रदायक संस्थालाई समयमै भुक्तानी हुन थालेसँगै स्वास्थ्य बीमा सेवाको निरन्तरता र प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ।