काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले एकाएक बीमकहरुको पुँजी वृद्धिको निर्णसँगै मर्जरमा गएका बीमकहरु अपुग पुँजीका लागि हकप्रद शेयर निष्काशनमा लागेका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गत आर्थिक वर्षको असार मसान्तसम्मको समय दिएको थियो । तर अझै त्यो लक्ष्यमा बीमकहरु पुग्न सकेका छैनन् । सो अवधिमा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेसनल लाइफ र हिमालयन लाइफले मात्रै प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याएका छन् । यसैगरी, निर्जीवन बीमा कम्पनीहरुमा हिमालयन एभरेष्ट इन्स्योरनस, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले चुक्ता पुँजी पुर्याइसकेका छन्। जीवन बीमातर्फ नेपाल लाइफ र नेसनल लाइफले बोनस शेयर नै दिएर प्राधिकरणले तोकेको पुँजी पुर्याएका थिए भने हिमालयन लाइफमा भने प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स मर्ज गरेर चुक्ता पुँजी पुर्याएको थियो । निर्जीवन बीमातर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर गरेर नै चुक्ता पुँजी पुर्याएका थिए । शिखर इन्स्योरेन्सले मात्रै बोनस शेयरकै बलमा नियामकले तोकेको चुक्ता पुँजी पुर्याएको थियो । भारतीय लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० ले चुक्ता पुँजीको ८८ दशमलब ४५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बीमा प्राधिकरणले मर्जरमा नगएका कम्पनीहरुलाई ३० प्रतिशतभन्दा बढी हकप्रद शेयर निष्काशन गर्न नदिने नीति लिए पछि विदेशी लगानी रहेको लाइफ इन्स्योरेन्सको सवालमा भने प्राधिकरण लचिलो भएको थियो । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भएर बनेको प्रभु महालक्ष्मी इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद शेयर माग गर्दै सेबोनमा आवेदन दिएको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफमध्ये महालक्ष्मी लाइफले अहिलेसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन । एसियन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीलाई ८ दशमलब १५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयरपछि कायम रहेको चुक्ता पुँजीमा कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । त्यसैगरी नेसनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा स्थापित एनएलजी इन्स्योरेन्सले १० बराबर ६।६ को अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । स्थापित कम्पनीको सहायक कम्पनी भएको नाताले एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको प्राधिकरणका अधिकारीले बताउँदै आएका छन् । निर्जीवन बीमातर्फ अझै युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले तोकिएको चुक्ता पुँजी कसरी पुर्याउने हो, स्पष्ट खुलाएको छैन । त्यसैगरी हालै मात्र सानिमा जीआइसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी चैत्र २९ गते हुने साधारण सभामा कम्पनीले सो प्रस्ताव गरेको हो । त्यसैगरी हालै मात्रै प्रिमियममा आइपीओ जारी गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले २३ दशलब ८ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।