काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई नयाँ आर्थिक वर्ष २०८३/८४ देखि निश्चित सर्तसहित नयाँ पुनर्बीमा कारोबार गर्न दिने तयारी गरेको छ। यस विषयमा प्राधिकरणको सञ्चालक समितिले केही दिनभित्र निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापनमाथि सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा अनुसन्धान सुरु भएपछि प्राधिकरणले गत वैशाख ३१ गतेदेखि असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको थियो। यद्यपि, पुनर्बीमा दाबी भुक्तानी तथा यसअघि भएका कारोबारका लागि रेट्रोसेसन गर्ने कार्य भने खुला राखिएको थियो।
प्राधिकरणका अनुसार अब प्रतिबन्धको अवधि सकिन लागेकाले कम्पनीको अवस्था, बीमा क्षेत्रको हित र सेवाग्राहीको संरक्षणलाई ध्यानमा राख्दै आगामी व्यवस्था तय गर्न लागिएको हो। स्रोतका अनुसार कम्पनीलाई पूर्ण रूपमा लामो समय कारोबारबाट रोक्दा थप जटिलता उत्पन्न हुने भएकाले सुधारका सर्तसहित कारोबार सञ्चालन गर्न दिने विकल्पमा छलफल भइरहेको छ।
छलफलमा कम्पनीको सञ्चालक समिति तथा उच्च व्यवस्थापन पुनर्गठन, सुशासन सुदृढीकरण, नियामकीय निगरानी कडा बनाउने तथा आवश्यक परे कम्पनीको व्यवस्थापनमा प्रत्यक्ष हस्तक्षेप गर्ने विकल्पसमेत समेटिएको बताइएको छ। अन्तिम निर्णय भने प्राधिकरणको बोर्ड बैठकले गर्नेछ।
हिमालयन रिका सेयरधनी व्यवसायी दीपक भट्टलाई कम्पनीको रकम दुरुपयोग गर्न सहयोग गरेको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा कम्पनीका पूर्वअध्यक्ष शेखर गोल्छा, प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित अन्य सञ्चालक तथा उच्च व्यवस्थापनविरुद्ध अनुसन्धान अघि बढेपछि कम्पनीको नयाँ पुनर्बीमा कारोबार रोकिएको थियो।
यसअघि जिल्ला, उच्च र विशेष अदालतमा दीपक भट्टसहित ९१ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। हिमालयन रिसँग सम्बन्धित प्रकरणमा करिब दुई अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको संयुक्त बिगो दाबी गरिएको छ।
कानुनी अनुसन्धानका कारण कम्पनीको व्यावसायिक गतिविधि र अन्तर्राष्ट्रिय साख प्रभावित भए पनि नियामक निकाय कम्पनीलाई सुधारको मार्गमा ल्याउँदै पुनः नियमित कारोबारमा फर्काउने विकल्पमा केन्द्रित भएको स्रोतको भनाइ छ।