काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
हिमालयन लाइफका अध्यक्ष नारायण बजाजले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्रकुमार खेतानको उपस्थिति थियो।
देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट भइरहेका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा गरिएको यो सहयोगबाट बाढी तथा पहिरो प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका कार्यमा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
हिमालयन लाइफले विपद्को यस कठिन समयमा प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र, संघसंस्था र आम नागरिकबीच सहकार्य आवश्यक रहेको जनाएको छ। राष्ट्रलाई आवश्यकता परेको अवस्थामा आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।