free website hit counter

१ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने पहिलो विकास बैंक बन्यो मुक्तिनाथ विकास बैंक

beemaadmin
२०८३ श्रावण २७, बुधबार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ। यससँगै मुक्तिनाथ विकास बैंक १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बैंकले ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। गत आर्थिक वर्षको अन्त्यसम्ममा यो रकम बढेर १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ३.३८ प्रतिशतले बढेको हो।

Advertisement
Advertisement

त्यस्तै, बैंकको निक्षेप संकलन ५.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement

नाफा १२.४४ प्रतिशत बढ्यो

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकको खुद नाफा १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ रहेको थियो।

खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेको छ। यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी भने १.५० प्रतिशतले घटेको छ।

बैंकको कुल सञ्चालन आम्दानी ३.८९ प्रतिशत र सञ्चालन मुनाफा २०.२३ प्रतिशतले बढेको छ।

यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ। इम्पेरमेन्ट चार्जमा आएको कमीले सञ्चालन मुनाफा र खुद नाफा बढाउन योगदान गरेको हो।

वितरणयोग्य मुनाफा ६७ करोड

गत असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी भने ८ रुपैयाँ ४५ पैसा रहेको छ।

नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानीमा भने सामान्य गिरावट आएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ।

असार मसान्तसम्म बैंकको मूल्य–आम्दानी अनुपात १९.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा तथा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार