free website hit counter

१० प्रतिशतले बढ्यो निर्जीवन बीमकको प्रिमियम संकलन

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । निर्जीवन बीमकले चालु आवको ४ महिनासम्ममा १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । यो प्रिमियम संकलन गत आवको सोही अवधिसम्मको तुलनामा १०.७४ प्रतिशत बढी हो । गत आवको कात्तिक महिनासम्ममा निर्जीवन बीमकहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । चालु आवको ४ महिनासम्मको व्यवसाय हेर्दा दुई बीमक बाहेक सबै कम्पनीले बढाएका छन् । प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको बीमाशुल्क आर्जन भने गत आवको तुलनामा घटेको छ । कात्तिक महिनासम्म सबैभन्दा धेरै व्यवसाय भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स सलिको रहेको छ । कम्पनीले सो अवधिसम्म १ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियरले १ अर्ब ४६ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड, हिमालयन एभरेष्टले १ अर्ब १४ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब १३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यसका साथै एनएलजी इन्स्योरेन्सले ९४ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख, युनाइटेड अजोडले ८४ करोड १ लाख रुपैयाँ, सानिमा जिआइसीले ७७ करोड ९३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सर्वाधिक व्यवसाय बढाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले ५८.५८ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ । गत आवको तुलनामा १२ वटा बीमा कम्पनीको व्यवसायमा ग्रोथ देखिएको छ भने दुईवटाको व्यवसाय खुम्चिएको छ । प्रभु इन्स्योरेन्सको व्यवसाय ११.१३ प्रतिशत र युनाइटेड अजोडको ३.२४ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार