free website hit counter

१६८ प्रतिशतले बढ्यो शुभम् पावरको नाफा

beemaadmin
२०८२ फाल्गुन १३, बुधबार

काठमाण्डौ । शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा वृद्धिको संकेत दिएको छ। यद्यपि कम्पनीको मुख्य आम्दानी स्रोत विद्युत बिक्री घट्दा नाफा वृद्धि भने गैर–सञ्चालन आम्दानी र खर्च कटौतीको प्रभावले सम्भव भएको देखिएको छ। सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४६ लाख ३२ हजार रुपैयाँको तुलनामा १६८ प्रतिशतभन्दा बढी वृद्धि हो। तर कम्पनीको विद्युत बिक्री आम्दानी भने १ करोड ३० लाख रुपैयाँबाट घटेर १ करोड २० लाख रुपैयाँमा सीमित भएको छ। नाफा वृद्धिको मुख्य आधार भने गैर–सञ्चालन आम्दानी बनेको छ। अघिल्लो वर्ष सोही अवधिमा कुनै गैर–सञ्चालन आम्दानी नभएको कम्पनीले यस वर्ष ८६ लाख रुपैयाँ बराबरको गैर–सञ्चालन आम्दानी गरेको छ। त्यसैगरी, कम्पनीले खर्च नियन्त्रणमा समेत सुधार देखाएको छ। प्रशासनिक खर्च १६ लाख १२ हजार रुपैयाँबाट घटेर ८ लाख ४३ हजार रुपैयाँमा झरेको छ भने वित्त खर्च पनि १९ लाख ३२ हजार रुपैयाँबाट घटेर १३ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ। २० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २४ लाख रुपैयाँले धनात्मक बनेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको रिटेन्ड अर्निङ धनात्मक हुनु वित्तीय सुदृढीकरणको संकेतका रूपमा लिन सकिन्छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२३.७६ रुपैयाँ, पीई रेसियो १३८.०३ गुणा र तरलता अनुपात २।९७ प्रतिशत कायम भएको छ।

सम्बन्धित समाचार