काठमाडौं । प्राकृतिक विपद्बाट घरआवासमा हुने क्षतिको जोखिम न्यूनीकरण तथा नागरिकको जीवन रक्षा र सामाजिक सुरक्षा सुनिश्चित गर्न मधेश प्रदेश सरकारले घरआवास सुरक्षा बीमा र दुर्घटना बीमा कार्यक्रम अघि बढाएको छ ।
कार्यक्रमअन्तर्गत प्रदेशका कम्तीमा १७ हजार ५०० घरआवासको प्राकृतिक विपद् जोखिमविरुद्ध बीमा गरिनेछ भने ५ हजार नागरिकलाई दुर्घटना बीमामा समेटिनेछ ।
कार्यक्रम सञ्चालनका लागि मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले इच्छुक बीमा कम्पनीसँग प्रस्ताव माग गरेको छ । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्न सम्बन्धित बीमा कम्पनीलाई आह्वान गरेको हो ।
प्राकृतिक विपद् तथा दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै प्रभावित परिवार र दुर्घटनामा परेका नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
मन्त्रालयले प्रस्ताव पेस गर्ने बीमा कम्पनीलाई घरआवास सुरक्षा बीमा तथा दुर्घटना बीमासम्बन्धी प्रक्रिया, बीमाशुल्क, बीमाङ्क रकम र लाभग्राहीले प्राप्त गर्ने सुविधाबारे विस्तृत विवरण खुलाउनुपर्ने व्यवस्था गरेको छ ।
बीमाको रकम तथा अन्य सर्तहरू मन्त्रालयले निर्धारण गरेका प्रावधान र स्वीकृत कार्यविधिअनुसार लागू हुनेछन् । कार्यक्रमबाट लाभान्वित हुने घरधुरी तथा नागरिकको विवरण पनि सोही कार्यविधिअनुसार तय गरिने मन्त्रालयले जनाएको छ ।
बीमा कार्यक्रमअन्तर्गत क्षति भएका घरधुरी तथा दुर्घटनाबाट प्रभावित लाभग्राहीले पाउनुपर्ने रकम सहज र छिटो उपलब्ध गराउनुपर्ने सर्तसमेत राखिएको छ ।
बीमा कम्पनीले लाभग्राहीलाई प्रदान गर्नुपर्ने रकम विद्युतीय रकम स्थानान्तरण प्रणाली (ईएफटी) मार्फत उनीहरूको बैंक खातामा उपलब्ध गराउनुपर्नेछ । यस व्यवस्थाले राहत रकम वितरणलाई सहज, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
मन्त्रालयका अनुसार कार्यक्रम ‘प्रदेशका नागरिकहरूको जीवन रक्षा र सामाजिक सुरक्षाका लागि प्राकृतिक विपद् जोखिमविरुद्धको घरआवास बीमा तथा दुर्घटना बीमा कार्यविधि, २०८३’ बमोजिम सञ्चालन हुनेछ ।
प्रदेश सरकारले अघि बढाएको यस कार्यक्रमबाट प्राकृतिक विपद्का कारण घरआवासमा क्षति व्यहोर्ने परिवार तथा दुर्घटनामा पर्ने नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।