काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका कमजोरी र असफलताको निरन्तर आलोचना गर्नुभन्दा आगामी ३५ वर्षका लागि स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।
उनले विगतमा आफूहरूले दोष लगाउन सकिने धेरै नेता र राजनीतिक शक्तिहरू रहेको भए पनि अब त्यही विषयमा अल्झिएर बस्ने समय नभएको बताए।
‘हिजो हामीले दोष लगाउने धेरै मान्छे र नेता थिए। दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन सकिन्थ्यो। तर आज कसलाई दोष देखाउने? अब हामीसँग दोष देखाउने कुनै कुरा छैन,’ उनले भने।
लामिछानेले अब विगत ३५ वर्षको हिसाब खोज्नेभन्दा आगामी ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने योजना प्रस्तुत गर्नुपर्ने बताए।
‘अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन। ३५ वर्षको योजना ल्याउनुहोस्। बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यवाद। तर अबको ३५ वर्षमा देश कस्तो बनाउने भन्ने कुरा हाम्रै हातमा छ,’ उनले भने।
उनले विगतका राजनीतिक कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ताको भविष्य र देश निर्माणका लागि दीर्घकालीन सोच आवश्यक रहेको बताए।
लामिछानेले पुराना राजनीतिक दलहरूले विगतमा गरेका सकारात्मक कामको पनि सम्मान गर्दै त्यसका लागि धन्यवाद दिनुपर्ने धारणा राखे।
उनले रास्वपाका नेता तथा कार्यकर्तालाई विगतको राजनीतिक बहसमा अल्झिनुभन्दा नीति, संगठन र नेतृत्वलाई प्रभावकारी बनाउँदै देशको आगामी दिशाका लागि ठोस योजना निर्माणमा केन्द्रित हुन आग्रह गरे।