काठमाडौं । २० वटा निर्जिवन बीमा कम्पनीहरु, पुनर्बिमा कम्पनी, बीमा समिति र सरकारका लागि ठूलो भारको रुपमा रहेको कोरोना बीमाको दाबी भुक्तानी अझै सहज बन्न सकेको छैन । गति बढे पनि अझै सबै बीमितले दाबी पेश गरेअनुसार भुक्तानी पाएका छैनन् ।
बीमा समितिले कोरोना बीमा वापत माघ २२ गते बिहीबारसम्म साढे ३ अर्ब रुपैयाँ भन्दा बढि भुक्तानी भएको जनाएको छ । त्यस अवधिमा ३६ हजार ५६९ जना बीमितले ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ भुक्तानी पाएका छन् । त्यस अवधिमा आवश्यक कागजपत्र पुरा भएका ६५ हजार ५१९ वटा दाबीका फाइलहरु प्राप्त भएका छन् भने ४ हजार ८७३ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।
यस्तै भेरिफिकेशनको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ९ हजार ८२४ वटा दाबीका फाइलहरु पेन्डिङ्ग छन् भने थप १ हजार ९५९ वटा दाबी भुक्तानीका फाइल महाशाखामा पठाउन तयार छ । ८ हजार ५५४ वटा फाइलहरु भेफिकेशनको प्रकृयामा रहेका छन् ।
दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि ३ हजार ३७५ वटा फाइल बीमा कम्पनीहरुलाई नै फिर्ता पठाएको पनि समितिले जनाएको छ । हालसम्म ३६५ वटा दाबीको भुक्तानी नभएको समितिको तथ्याङ्क छ । त्यसमा दोहोरो दाबी तथा फेक दाबी आएपछि भुक्तानी नपाएका हुन् ।
समितिले निजी ल्यावमा परीक्षण गरेको दाबी भुक्तानीमा फेक क्लेम परेको आंशका गर्दै दाबीका फाइलहरु भेरिफिकेशन प्रकृया शुरु गरेको थियो ।