काठमाडौं । काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४७ विदेशी महिलालाई अध्यागमन विभागमार्फत नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै विशेष अभियान सञ्चालनका क्रममा ५७ विदेशी महिलालाई पक्राउ गरिएको र तीमध्ये ४७ जनालाई देश निकाला गरिएको जानकारी दिएको हो।
परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार बाँकी १० जनामाथि अनुसन्धान जारी रहेको छ।
एसपी भट्टराईले स्थानीय बासिन्दाबाट प्राप्त गुनासोका आधारमा ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरिएको बताए। उनका अनुसार केही विदेशी नागरिक नेपालमा सस्तो जीवनयापन र नाइटलाइफको आकर्षणसँगै अनैतिक गतिविधिमा संलग्न हुने उद्देश्यले आउने गरेको पाइएको छ।
प्रहरीका अनुसार निष्कासित महिलाहरूलाई युगान्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश, केन्या र इन्डोनेसियालगायत देशमा फिर्ता पठाइएको छ।
पत्रकार सम्मेलनमा एसपी भट्टराईले अनलाइन बेटिङलाई संगठित रूपमा सञ्चालन गर्दै हुण्डी र क्रिप्टोकरेन्सीमार्फत ठूलो रकम विदेश पठाउने गिरोहमाथि पनि निगरानी बढाइएको जानकारी दिए।
उनका अनुसार यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहको पहिचान, बेटिङ वेबसाइटहरूको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई प्रहरीले तीव्र बनाएको छ।
प्रहरीले सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने विचौलियाविरुद्ध सञ्चालन गरिएको अभियानअन्तर्गत ३०९ जनालाई पक्राउ गरेको जनाएको छ। तीमध्ये ६१ जनाविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए।