काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको समय सीमा सकिनै लाग्दा हकप्रद निष्कासनको तयारीमा रहेका १० बीमा कम्पनीमध्ये अझै ६ वटा बीमकले धितोपत्र बोर्डसँग अनुमति माग्न बाँकी नै छ । बीमा प्राधिकरणले चालु आर्थिक वर्षको अन्त्यसम्म चुक्तापूँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु पूँजी वृद्धि गर्न लागिपरेका छन् । हालसम्म लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), प्रभु महालक्ष्मी लाइफ, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले मात्रै धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । जीवन बीमातर्फ सन नेपाल लाइफ र एशियन लाइफले हकप्रदको प्रस्ताव साधारण सभामार्फत पारित गरिसकेपनि सेबोनमा निवेदन पेश गर्न बाँकी छ । यसका साथै निर्जीवन बीमातर्फ सानिमा जिआइसी, हिमालयन एभरेष्ट र युनाइटेड अजोडले पनि निवेदन पेश गर्न बाँकी नै छ । सानिमा जिआइसीले साधारण सभामार्फत प्रस्ताव पारित गरिसकेको छ भने नेपाल इन्स्योरेन्स र युनाइटेड अजोडले भने साधारण सभामार्फत प्रस्ताव पेश गर्न बाँकी छ । पुनर्बीमातर्फ हिमालयन रि इन्स्योरेन्सले पनि साधारण सभामार्फत हकप्रदको प्रस्ताव पारित गरेपनि बोर्डमा अझै निवेदन पेश गरेको छैन । धितोत्रप बोर्ड अध्यक्षबिहिन भएदेखि ५० भन्दा बढी कम्पनीको धितोपत्र निष्कासन प्रक्रिया रोकिएको छ । बीमा कम्पनीमा सबैभन्दा पहिला हकप्रद निष्कासनको अनुमति मागेको एलआइसी नेपाल ८ महिनादेखि सेबानको पाइपलाइनमा छ । गत ६ महिनादेखि बोर्ड अध्यक्षबिहिन हुँदा विभिन्न कम्पनीको आईपीओ, एफपीओ र हकप्रद निष्कासको प्रक्रिया ठप्प छ । तर अब छिट्टै धितोपत्र निष्कासको प्रक्रिया खुल्ने भएको छ । अर्थमन्त्रालयका सहसचिव नरेन्द्र कुमार रानालाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ । स्रोतका अनुसार बोर्डमा नयाँ अध्यक्ष नियुक्ति नहुँन्जेल रानाले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । राना अध्यक्ष भएर आएसँगै अब आईपीओ, एफपीओ र हकप्रद निष्कासनको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ । बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशनबमोजिम चालु आर्थिक वर्षको अन्त्यसम्म चुक्तापुँजी कायम गर्नुपर्नेछ । अर्थको सहसचिव रानाले धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी पाएपनि अझै धितोपत्र निष्कासनको प्रक्रिया खुल्ने टुङ्गो नहुँदा बीमा कम्पनीलाई न्यूतम चुक्तापुँजी पुर्याउन सकस पर्नेछ । अझैपनि ६ वटा बीमा कम्पनीले निवेदन पेश गर्न बाँकी छ । यदि सेबोनबाट धितोपत्र निष्कासनको बाटो खोल्दा १० वटा बीमा कम्पनीको लगातार हकप्रद आएपनि डेढ महिनामा तोकिएको पुँजी कायम गर्न सम्भव देखिंदैन । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्न पुनः समयसीमा बढाउने देखिन्छ ।