free website hit counter

६ वटा बैंकको नाफा १० अर्ब ३० करोड

beemaadmin
२०७७ बैशाख ३०, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको रिपोर्ट अनुसार ग्लोबल आईएमई, लक्ष्मी, कुमारी, स्ट्यान्डर्ड चार्टर, प्रभु र सानिमा बैंकले १० अर्ब ३० करोड नाफा आर्जन गर्न सफल भएका छन् । यीमध्ये जनता बैंकलाई मर्जर गरेको ग्लोबल आईएमई बैंकले २ अर्ब ७० करोड नाफा आर्जन गरेको छ भने प्रभु बैंकले २ अर्ब ९ करोड नाफा आर्जन गरेको छ । हेरौं आधा दर्जन बैंकको अवस्था कस्तो छ ?

ग्लोबल आइएमईको नाफा २ अर्ब ७० करोड
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको यसै अवधिको तुलनामा ४४.३६ प्रतिशत धेरै हो। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसैगरी मर्जर अवधिसम्म जनता बैंकले कमाएको नाफा समेत जोड्दा बैंकको खुद नाफा ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ। जनता बैंकले ग्लोबल आईएमईसँग मर्ज हुनुभन्दा पहिले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५७ करोड ९५ लाख रुपैयाँ रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा बैंकले ६ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा २ अर्ब ३२ करोड रुपैयाँले धेरै हो। बैंकले गत वर्षको यसै अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। त्यसैगरी, सञ्चालन नाफा पनि १ अर्ब १५ करोड रुपैयाँले बढेर ३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकले २ खर्ब १ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ खर्ब २० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। जनता बैंकलाइ आफुमा गाभेपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँबाट बढेर १८ अर्ब ९७ कारोड रुपैयाँ पुगेको छ भने जगेडा कोष पनि ३ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

प्रभु बैंकको नाफा २ अर्ब ९ करोड
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु बैंकले २ अर्ब ८ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ८ करोड मात्र मुनाफा आर्जन गरेको हो। यद्यपि, बैंकको खुद नाफा भने समीक्षा अवधिमा १ करोड १९ लाख रुपैयाँ बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। गत आवको चैत मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१ करोड ९३ लाख रुपैयाँ बढेर १ अर्ब ५९ करोड पुगेको छ।
गत आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा १६ करोड ४४ लाख रुपैयाँ सञ्चालन खर्च रहेकोमा चालु आवको सोही अवधिसम्ममा घटेर ३ करोड १० लाखमा सीमित भएको छ। १० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले जगेडा कोषमा ४ अर्ब ५३ करोड रुपैयाँ र शेयरधनी कोषमा ७९ करोड ८१ लाख रुपैयाँ सञ्चय गरेको छ।
खुद नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। चैत मसान्तमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८९ पैसा कायम भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ९ रुपैयाँ १८ पैसा कम हो। बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ६९ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ११.३१ गुणा रहेको छ।
सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७७ करोड ४९ लाख रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा २।९५ प्रतिशत रहेको छ। यो गत आवको सोही अवधिको तुलनामा ०.५३ प्रतिशतविन्दु बढी हो।

लक्ष्मीले कमायो १ अर्ब ८ करोड
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६ करोड ३ लाख रुपैयाँ बढी हो। बैंकले १ अर्बभन्दा बढी नाफा कमाए पनि वितरण योग्य मुनाफा भने सो अवधिसम्ममा ४१ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ। नियामकिय जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ ट्रान्सफर गरेसँगै बैंकको वितरण योग्य मुनाफा ऋणात्मक हुन पुगेको हो। सो अवधिसम्ममा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४१ करोड ४२ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४ करोड ७४ लाख रुपैयाँ बढेर १ अर्ब ५६ करोड पुगेको छ।
सो अवधिसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ। खुद नाफामा सामान्य सुधार भएपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आवको तेस्रो त्रैमासमा १५ रुपैयाँ ३९ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा घटेर १४ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घटेको हो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५० गुणा रहेको छ।

कुमारीको नाफा १ अर्ब १ करोड
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश सूचकमा सुधार गरेको कुमारी बेंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ९४ लाख २४ हजार रुपैयाँ बढी हो। गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५१ करोड ९६ लाख रुपैयाँ बढेर २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। कर्मचारी खर्च र अन्य खर्च बढेपछि खुद ब्याज आम्दानी आधा अर्बभन्दा बढी बढेपनि खुद नाफा सामान्य मात्र बढेको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६ करोड २ लाख रुपैयाँ बढेर १ अर्ब ४८ करोड पुगेको छ। समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ४८ करोड ११ लाख रुपैयाँ बढेर १ अर्ब १२ करोड पुगेको छ नभे अन्य सञ्चालन खर्च १७ करोड ९४ लाख रुपैयाँ बढेर ५५ करोड ९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.४१ प्रतिशतबाट घटेर ०.९८ प्रतिशतमा सीमित भएको छ।९ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ६ करोड ९२ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा कायम भएको छ। यो गत आवको सोही अवधिको तुलनामा १ रुपैयाँ २७ पैसा कम हो। बैंकको मूल्य आम्दानी अनुपात १२।५२ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ रहेको छ। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ५० लाख रुपैयाँ रहेको छ।

स्ट्याण्डर्डको नाफा १ अर्ब ८० करोड
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ६ करोड ८१ लाख रुपैयाँ बढी हो। गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएसँगै खुद नाफा बढ्न पुगेको हो। खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत आवको चैत मसान्तमा २८ रुपैयाँ ८७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिसम्ममा बढेर ३० रुपैयाँ पुगेको छ। खुद नाफा बढेको र चुक्ता पूँजी स्थिर रहेका कारण बैंकको यस्तो आम्दानीमा सुधार देखिएको हो। बैंकको मूल्य आम्दानी अनुपात १९.६७ गुणा कायम रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ७८ पैसा रहेको छ।
बैंकले चालु आवको चैत मसान्तसम्ममा २ अर्ब ७९ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा २३ करोड ८७ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९ करोड ७३ लाख रुपैयाँ बढेर २ अर्ब ५७ करोड पुगेको छ। समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन मुनाफामा भने उल्लेख्य कमी आएको छ।
बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ। बैंकले चैत मसान्तसम्ममा ५ अर्ब १३ करोड रुपैयाँ जगेडा कोषमा र १ अर्ब ७३ करोड रुपैयाँ शेयरधनी कोषमा जम्मा गरेको छ।

सानिमाले बढायो नाफा
सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरणअनुसार १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४ करोड ३३ लाख रुपैयाँ बढी हो। गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफामा सुधार देखिएको हो। चालु आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब २९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ३२ करोड २९ लाख रुपैयाँ बढी हो भने सञ्चालन मुनाफा ५ करोड ५२ लाख रुपैयाँ बढी हो। खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ। गत आवको चैत मसान्तमा २६ रुपैयाँ ५२ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा घटेर २४ रुपैयाँ ७७ पैसामा सीमित भएको छ। ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब २४ करोड ९७ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ। सा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५७ करोड ६७ लाख रुपैयाँ रहेको छ।
बैंकको मूल्य आम्दानी अनुपात १३.०८ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ २४ गुणा रहेको छ। बैंकको निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा ०२४ प्रतिशतविन्दु बढेर ०।३६ प्रतिशत पुगेको छ भने आरओई २१.९८ प्रतिशतबाट घटेर १९.६८ प्रतिशत पुगेको छ ।

सम्बन्धित समाचार