free website hit counter

अभिकर्ताको इन्सेन्टिभ कटौती रोक्न पेशागत बीमा अभिकर्ता संघको माग

beemaadmin
२०८३ आश्विन ७, बुधबार

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिँदै आएको प्रोत्साहन (इन्सेन्टिभ) रकम कटौती गर्न थालेको भन्दै पेशागत बीमा अभिकर्ता संघ नेपालले त्यसलाई तत्काल रोक्न माग गरेको छ। संघले इन्सेन्टिभसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण गराएको हो।

नेपाल लाइफ र एलआईसी नेपालबाहेक अधिकांश जीवन बीमा कम्पनीले अभिकर्ताले पाउँदै आएको इन्सेन्टिभ रकम कटौती गरेको भन्दै संघले प्राधिकरणसमक्ष गुनासो गरेको छ। संघले बीमा कम्पनीहरूलाई प्रचलित नियमअनुसार अभिकर्तालाई इन्सेन्टिभ उपलब्ध गराउन आवश्यक निर्देशन दिन प्राधिकरणसँग आग्रह गरेको छ।

Advertisement
Advertisement

संघले प्राधिकरणलाई पठाएको पत्रमा बीमा नियमावली, २०८१ मा रहेको व्यवस्थाअनुसार अभिकर्तालाई प्रोत्साहन रकम उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ। संघका अनुसार जीवन बीमा व्यवसायको विस्तारमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहेकाले व्यवसाय प्रवद्र्धन तथा अभिकर्तालाई प्रोत्साहित गर्न कानुनी व्यवस्थाअनुसार अतिरिक्त सुविधा उपलब्ध गराइनुपर्छ।

Advertisement
Advertisement

संघले बीमा नियमावली, २०८१ को परिच्छेद १० अन्तर्गतको व्यवस्थाअनुसार अभिकर्तालाई इन्सेन्टिभ उपलब्ध गराउनुपर्ने जनाएको छ। नियमावलीमा व्यवस्था भएबमोजिम कमिसनबाहेक प्रथम बीमाशुल्कका आधारमा प्राधिकरणले निर्धारण गरेको सीमाभित्र रही अभिकर्तालाई प्रोत्साहन रकम उपलब्ध गराउन सकिने व्यवस्था रहेको संघको भनाइ छ।

अभिकर्तामार्फत जारी भएका बीमालेख तथा व्यवसाय वृद्धिका आधारमा उपलब्ध गराइने इन्सेन्टिभसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै बीमकलाई आवश्यक निर्देशन तथा सहजीकरण गर्न संघले प्राधिकरणसँग माग गरेको छ।

संघले नियमावली लागू भएको मितिदेखि नै उक्त व्यवस्थाअनुसार अभिकर्तालाई इन्सेन्टिभ उपलब्ध गराउने व्यवस्था स्पष्ट रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ। व्यवसाय वृद्धिका लागि अभिकर्ताले पुर्‍याएको योगदानका आधारमा प्राधिकरणले तोकेको सीमाभित्र रही इन्सेन्टिभ उपलब्ध गराउन सकिने भएकाले सोहीअनुसार बीमकलाई आवश्यक निर्देशन दिनसमेत संघले आग्रह गरेको छ।

संघले प्राधिकरणसमक्ष गरेको मागअनुसार आवश्यक निर्णय तथा निर्देशन जारी भएमा जीवन बीमा कम्पनी र अभिकर्ताबीच इन्सेन्टिभ रकमलाई लिएर देखिएको विवाद समाधान हुने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार