free website hit counter

सरकारले घोषणा गरेको ‘बम्पर उपहार’ कागजमै सीमित

beemaadmin
२०८३ मंसिर ८, सोमबार

काठमाडौं । वर्षौंदेखि कारोबार नगरी बन्द अवस्थामा रहेका कम्पनी तथा फर्म खारेज गर्न सरकारले घोषणा गरेको कर छुट तथा सहुलियतको प्याकेज कार्यान्वयनमै अल्झिएको छ। कर, शुल्क र जरिवानाको भारले थलिएका व्यवसायीलाई राहत दिने उद्देश्यले ल्याइएको नीति सरकारी निकायबीचको समन्वय अभाव र झन्झटिलो प्रक्रियाका कारण प्रभावकारी हुन सकेको छैन।

सरकारले पाँच कार्यदिनभित्र प्रक्रिया पूरा गर्ने व्यवस्था गरे पनि व्यवहारमा त्यसअनुसार सेवा प्रवाह हुन सकेको छैन। असोज २८ गते एक व्यवसायीले उद्योग बन्द गर्न आवश्यक कागजात अनलाइनमार्फत अपलोड गरे पनि लामो समयसम्म काम अघि बढेको छैन। सम्बन्धित निकायमा सम्पर्क गर्दा समेत स्पष्ट जवाफ दिने व्यक्ति नभेटिएको उनको गुनासो छ।

Advertisement
Advertisement

मंसिर १ गते राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको कर छुट तथा सहुलियत प्याकेजलाई ‘ऐतिहासिक बम्पर उपहार’को संज्ञा दिएका थिए। १०–१५ वर्षदेखि शुल्क, दस्तुर र जरिवानाको भारले थिचिएका करदातालाई राहत दिन यस्तो प्याकेज ल्याइएको उनको भनाइ थियो। पुस मसान्तभित्र यसको लाभ लिन पनि उनले आग्रह गरेका थिए।

Advertisement
Advertisement

तर, सहुलियत लिन खोज्ने व्यवसायीले उल्टै लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ।

यसको उदाहरण हुन्, नुवाकोटका नवीन बाँस्कोटा। वैदेशिक रोजगारीका सिलसिलामा यूएईमा रहेका उनले २०६८ सालमा काठमाडौंमा कृषि सामग्री आपूर्ति गर्ने कम्पनी स्थापना गरेका थिए। व्यवसाय नचलेपछि तीन वर्षमै कम्पनी छाडेर दुबई पुगेका उनी त्यसयता फर्किएका छैनन्। कम्पनीबाट १२ वर्षदेखि कुनै कारोबार भएको छैन।

सरकारले शुल्क तथा जरिवाना छुट दिने व्यवस्था गरेपछि नेपाल आएको मौका पारेर उनले कम्पनी खारेज गर्न खोजे। तर, लेखापरीक्षण, घरबहाल कर, नगरपालिकामा दर्ता र नवीकरणलगायत प्रक्रिया पूरा गर्दा दुईदेखि तीन लाख रुपैयाँ खर्च हुने देखिएपछि उनी पछि हटे।

‘१२ वर्षदेखि बन्द भएको, कारोबार नै नभएको कम्पनी बन्द गर्न २–३ लाख रुपैयाँ खर्च गर्नुपर्ने भएपछि किन बन्द गर्ने? कसैको खाएर भागेको होइन, चलाउन नसकेर बन्द गरेको कम्पनीको जरिवाना तिर्न नसकेर सरकारले कारबाही गर्छ भने गरोस्,’ उनी भन्छन्।

कम्पनी बन्द गर्न तीन तहको आर्थिक भार

आर्थिक ऐनका दफा ४२ देखि ४४ सम्म सरकारले लामो समयदेखि आय विवरण, भ्याट विवरण तथा अन्य कर विवरण नबुझाएका करदातालाई शुल्क, ब्याज र जरिवानामा पूर्ण वा आंशिक छुट दिने व्यवस्था गरेको छ। तर, कर कार्यालयको छुटले मात्रै कम्पनी खारेजी प्रक्रिया पूरा हुँदैन।

पहिलो समस्या लेखापरीक्षण हो। कारोबार नभएको कम्पनीले समेत प्रत्येक वर्षको छुट्टाछुट्टै लेखापरीक्षण गराउनुपर्छ। रजिस्टर्ड अडिटरले प्रतिवर्ष पाँचदेखि सात हजार रुपैयाँ लिने गरेका छन्। यस हिसाबले १० देखि १२ वर्ष पुरानो कम्पनीको लेखापरीक्षणमै ६० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुन्छ।

दोस्रो भार स्थानीय तहको व्यवसाय दर्ता र नवीकरण हो। संघीयता कार्यान्वयनअघि नै बन्द भएका व्यवसायलाई समेत अहिले स्थानीय तहमा दर्ता गर्नुपर्ने अवस्था छ। स्थानीय तहले दर्ता शुल्क, पुरानो नवीकरण शुल्क र विलम्ब जरिवानासमेत असुल गर्ने गरेका छन्।

तेस्रो समस्या घरबहाल कर हो। कतिपय स्थानीय तहले मासिक न्यूनतम पाँच हजार रुपैयाँ भाडा मानेर पुरानो अवधिको घरबहाल कर, ब्याज र जरिवाना गणना गर्ने गरेका छन्। यसअनुसार १० वर्षको अनुमानित घरबहाल रकम मात्रै छ लाख रुपैयाँ पुग्छ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी खारेज गर्न लेखापरीक्षण, स्थानीय तहको सिफारिस र कर चुक्ता प्रमाणपत्र आवश्यक पर्छ। त्यस्तै, फर्म खारेज गर्न पनि सम्बन्धित दर्ता निकाय र कर कार्यालयका प्रक्रिया पूरा गर्नुपर्छ। एउटा निकायको कामका लागि अर्को निकायको कागजात आवश्यक पर्ने भएकाले व्यवसायीले कार्यालय धाउनुपर्ने बाध्यता छ।

कलंकीस्थित कर कार्यालयका कर अधिकृत विजयप्रसाद लामिछानेका अनुसार आर्थिक ऐनले दिएको सहुलियत कार्यान्वयन गर्नुअघि व्यवसायीले आवश्यक लेखापरीक्षण र स्थानीय तहका प्रक्रिया पूरा गर्नुपर्छ।

आन्तरिक राजस्व विभागका निर्देशक केशव रघुवंशी पनि अन्तरनिकाय समन्वय अभावका कारण समस्या आएको स्वीकार गर्छन्। ‘हामीले त आर्थिक ऐनले दिएको सहुलियत कार्यान्वयन गर्ने हो। कर कार्यालयमा लाग्ने शुल्क र जरिवानामा छुट दिइरहेकै छौँ। तर, स्थानीय तह र अन्य निकायले यहीअनुसार सहुलियतको व्यवस्था नगर्दा समस्या देखिएको हो,’ उनी भन्छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ पनि सरकारले घोषणा गरेको सहुलियत कर कार्यालयमा मात्रै सीमित भएको बताउँछन्। उनका अनुसार प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय नगर्दा व्यवसायीले यसको लाभ लिन सकेका छैनन्।

सरकारले कर छुट घोषणा गरे पनि कम्पनी तथा फर्म खारेजीसँग सम्बन्धित सबै निकायमा एउटै नीति लागू हुन सकेको छैन। कर कार्यालय, कम्पनी रजिस्ट्रार, उद्योग तथा वाणिज्यसम्बन्धी निकाय र स्थानीय तहबीच समन्वय गरी एकीकृत प्रक्रिया लागू नगरेसम्म व्यवसायीले वास्तविक राहत पाउने अवस्था छैन।

पाँच कार्यदिनमा काम सक्ने भनिएको प्रक्रिया नै लामो समयसम्म अल्झिनुले सरकारी घोषणाको कार्यान्वयन कमजोरी उजागर गरेको छ। सहुलियतको घोषणा मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमन पनि आवश्यक छ। अन्यथा, सरकारको ‘ऐतिहासिक बम्पर उपहार’ कागजमै सीमित हुनेछ।

सम्बन्धित समाचार