काठमाडौं । ऊर्जा बचत गरेबापत विभिन्न कम्पनीले अनुदान पाएका छन् । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसियन्सी कार्यक्रम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई अनुदान रकम दिएको हो ।
बैंकले अशोक स्टील इन्डस्ट्रिजलाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्क्स लाई २० लाख एक हजार एक सय एकतीस रुपैयाँ, गोइन्का स्टीललाई पाँच लाख ६० हजार चार सय रुपैयाँ रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बीच हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले अन्य बैंकको तुलनामा रावा बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आव्हान गरे ।
यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध हुने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।