काठमाडौं । बढ्दो प्रतिस्पर्धासँगै बीमा बजारमा नयाँ नयाँ बीमा लेख आउनेक्रम जारी छ । यसरी आएका बीमालेखका सेवा सुविधाका बारेमा नियमनकारी निकाय बीमा समितिले पूर्व स्वीकृति दिए पनि पछि त्यसलाई सच्याउने अधिकार उसैलाई रहन्छ । अहिले सावधिक जीवनबीमाअन्तर्गत पर्ने केही बीमकले बेच्दै आएको एउटै बीमालेखले श्रीमान/श्रीमतीकै जोखिम बहन गर्ने व्यवस्थालाई परिमार्जन गरेको छ ।
एउटै बीमालेखबाट श्रीमान् र श्रीमतीको बीमा गराउदा विभिन्न समस्या आएको भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।
बीमा समितिले दाम्पत्ति बीमालेख रोक्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएको छ । फागुन ७ गते बुधबार समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै दाम्पत्ति बीमालेखमा पति÷पत्नी दुबैले पाउने लाभ रोक्न निर्देशन दिएको हो ।
समितिबाट स्वीकृति लिएका तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमालेखहरुमा पति/पत्नीको सुरक्षण लाभ समाबेश नगर्न जीवन बीमा कम्पनीहरुलाई परिपत्र पठाएको हो । बीमाको आधारभूत मूल्य मान्यता भन्दा बाहिर गएर दाम्पत्ति बीमाको दुरुपयोग हुन थालेपछि पति/पत्नीको सुरक्षण लाभ रोक्न समितिले निर्देशन दिएको हो ।
दम्पति बीमाको दुरुपयोग सुरु भएको भन्दै समितिले यस्तो व्यवस्था लागू गरेको हो । एक जनाको आम्दानी देखाएर बीमा प्रिमियम तिर्ने र दुबै जनाले लाभ पाउने व्यवस्था व्यवहारिक नभएको र यसमा केही समस्या आएको भन्दै बीमा समितिले यस्तो निर्देशन दिएको हो ।
पछिल्लो समय बीमा कम्पनीहरुले एउटै बीमालेखबाट श्रीमानर श्रीमती दुबैको बीमा सुरक्षा हुने बीमालेखहरु आक्रमक रुपमा सार्वजनिक गर्दै आइरहेका छन् । बीमा समितिको यो निर्देशनसँगै एउटै बीमालेखबाट श्रीमान/श्रीमती पाउने बीमा सुबिधामा रोक लागेको छ ।