काठमाडौं । केही दिनदेखि घट्नै गएको कोरोना संक्रमण आज एकै दिन बढ्न पुगेको छ । नेपालमा मंगलबार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३११ जनामा कोरोना देखिएको जानकारी दिए। २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ। जसमध्ये १३ हजार ८ सय ७५ जना निको भएर घर फर्किएका छन्। २४ घण्टामा मात्रै १ सय २१ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय २९ रहेको छ। यस्तै १५ हजार ३ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् भने ४९ जनाको मृत्यु भएको छ।
राजधानीमा बढ्यो संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।