काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ। पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला २७ हजार ८०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारदेखि शुक्रबारसम्म सुनको मूल्य निरन्तर ओरालो लागेको छ।
आइतबार प्रतितोला एक हजार ९०० रुपैयाँले घटेर सुनको मूल्य दुई लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो। सोमबार थप एक हजार १०० रुपैयाँ घट्दै दुई लाख ६६ हजार १०० रुपैयाँमा झरेको सुन मंगलबार पुनः एक हजार ९०० रुपैयाँले सस्तिएको थियो। त्यस दिन सुन प्रतितोला दुई लाख ६४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार सुनको मूल्यमा थप ठूलो गिरावट देखियो। यस दिन प्रतितोला ६ हजार ३०० रुपैयाँ घटेर दुई लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो। बिहीबार पनि मूल्य घट्ने क्रम रोकिएन। उक्त दिन प्रतितोला तीन हजार ३०० रुपैयाँले घट्दै सुन दुई लाख ५४ हजार ६०० रुपैयाँमा झरेको थियो।
साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ। यस दिन प्रतितोला १२ हजार २०० रुपैयाँ घटेर सुन दुई लाख ४२ हजार ४०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
यसरी आइतबारको तुलनामा शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २७ हजार ८०० रुपैयाँले घटेको हो।