काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ करोड २४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो। इन्स्योरेन्सको आम्दानी उल्लेख्य बढेसँगै खुद नाफा बढेको हो।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क २ अर्ब २८ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सको यस्तो शुल्क १ अर्ब ७३ करोड रहेको थियो।
२ अर्ब १ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ४७ करोड ४४ लाख रुपैयाँ, जीवन बीमा कोषमा १९ अर्ब ३१ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। इन्स्योरेन्सले महा विपत्ती जगेडामा ५ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोमा १ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबापत इन्स्योरेन्सले ४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ। इन्स्योरेन्सले सो अवधिसम्ममा १७ अर्ब ९१ करोड ५१ लाख दीर्घकालीन लगानी तथा कर्जा परिचालन गरेको छ।