काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि निष्कासन गर्ने भनिएको पहिलो चरणको आईपीओ स्थगित भएको छ । कम्पनीले हालको देशको विषम परिस्थितिका कारण उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भनिएको आईपीओ अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको हो । भदौ १७ गते कम्पनीले सेबोनबाट जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपियाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपियाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपियाँ बराबरको प्रतिशेयर १०० रुपियाँ दरको २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको थियो । सो शेयरमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानीय बासिन्दाले आवेदन दिन सक्ने भनिएको थियो । साथै ४ करोड ९७ लाख ९ हजार २०० रुपियाँ बराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरका ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको थियो । कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ ।