काठमाडौं । बीमा क्षेत्रमा अझै धेरै सुधारको खाँचो छ । बीमा क्षेत्रको सुधारको जिम्मेवारी नियामक निकाय बीमा समितिको हो । बीमा समितिको नेतृत्व दक्ष सम्बन्धित क्षेत्रको विज्ञको हातमा परेको खण्डमा बीमा व्यवसायले फड्के मार्न कुनै समय कुर्नु पर्दैन ।
बैंकिङ क्षेत्रसँग समन्वय गरि अघि बढ्न पुरानो पुस्ता भन्दा नयाँ पुस्ताबाट नेतृत्वमा लैजानु आवस्यक देखिन्छ । आगामी पौषको दोस्रो साताबाट खाली हुन लागेको बीमा समितिको कार्यकारी अध्यक्षमा अहिले नेपाल रास्ट्र बैंकका बहालवालाका बरिष्ट डेपुटी गभर्नरदेखि पूर्ब कार्यकारी निर्देशकहरु समेत शक्ति केन्द्र धाउन थालेका छन् ।
आकर्षक मानिएको सो पदका लागि प्रतिस्पर्धीको ताँती नै लागेको छ । राजनीतिक पहुँच भिडाउनेहरुलाई भन्दा बीमा र वित्त क्षेत्रकै विज्ञलाई सो पदको जिम्मेवारी दिनुपर्ने आवाज पनि उठिरहेको छ । समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंको कार्यकाल यही पुस १४ गते सकिँदै छ ।
माओवादी निकट मानिएका चापागाईं पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेला अध्यक्ष बनेका थिए । चापागाईं फेरि पनि अध्यक्ष हुने दौडमा छन् । राष्ट्र बैङ्कको गर्भनरको दौडमा पछाडि परेका नेपाल राष्ट्र बैङ्कका डेप्युटी गर्भनर चिन्तामणि शिवाकोटीले पनि बीमा समितिको अध्यक्ष पदका आकांक्षी हुन् । प्रधानमन्त्री केपी ओली निकट मानिने शिवाकोटी बिलया दाबेदार मानिएका छन् ।
यही दौडमा छन् राजन विक्रम थापा पनि । नेपाल राष्ट्र बैंकमा २५ वर्ष काम गरेका थापाले बैंकिङका व्यक्तिहरुलाई तालिम दिनेदेखि सो क्षेत्रका लागि आवश्यक पुस्तक लेखनमा अग्रणी मानिन्छन् । व्यवस्थापनमा एमफिल गरेका थापाले एलएलबी र अर्थशास्त्रमा एमए गरेका छन् । उनलाई वित्त क्षेत्रमा विज्ञको रुपमा मानिन्छ ।
यस्तै दौडमा रहेका अर्का पात्र हुन् कृषि विकास बैङ्कका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला । यसअघि समितिको अध्यक्षको दौडमा रहेका डा रवीन्द्र घिमिरेले पनि दौड जारी राखेका छन् । डा घिमिरे पोखरा विश्वविद्यालयका एशोसिएट प्रोफेसर हुन् ।
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईंको नाम पनि यो दौडमा अगाडि नै आउने गरेको छ । उनी पर्यटनमन्त्री योगेश भट्टराई निकट मानिन्छन् । कर्मचारी सञ्चयकोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य पनि समितिको अध्यक्षको लबिङमा रहेको चर्चा छ । यसैगरी नेपाल पुनर्बीमा कम्पनीका संस्थापक सिइओसमेत भइसकेका रमेश लम्साल पनि अध्यक्षका आकांक्षी रहेका छन् ।
यसैगरी राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गङ्गाराम कँडेल, नेपाल स्टक एक्सचेन्जका पूर्व अध्यक्ष टंक पनेरु, बीमा कम्पनीको कार्यकारी निर्देशकबाट नियुक्त पाएका श्रीमान् कार्की, बिजय शाहलगायतको नाम पनि अहिले चर्चामा रहेको छ । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले समितिको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ ।