काठमाडौं । दिनदिनै जस्तो रेकर्ड ब्रेक गर्दै मूल्य वृद्धि भएको सुन सामान्य नगारिकले किन्न सक्ने अवस्था छैन । अब सुन हुने खानेका लागि मात्रै विलासी वस्तू बन्न पुगेका बेला नेपाल राष्ट्र बैंकले भने सुनको दैनिक आयात कोटा बढाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुनको दैनिक आयात कोटा २० किलोग्रामबाट २५ किलोग्राम कायम गरेको छ । सुन व्यवसायीका अनुसार, पछिल्लो पटक मूल्यका कारण कारोबारमा तीव्र गिरावट आएको छ । हाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा बजारमा कारोबार भइरहेको छ । बजारमा सुन खपत नभए पछि केही समयअघि वाणिज्य बैंकहरुले पनि आयात कोटाभन्दा निकै कम परिमाणमा सुन ल्याइरहेका थिए । सुनको कारोबार नभएको र आयात कम भइरहेको अवस्थामा राष्ट्र बैंकले किन दैनिक आयात कोटा बढायो भन्ने विषयमा नेपाल बैंकर्स एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बैंकहरुले सुन आयात नगरेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएका छन् । एशोसिएसनले नियमित रुपमा सुन आयात गरिरहेको छ । यसअघिकै सुनको स्टक बढी रहेकोले केही दिन आयात गरिएको थिएन् । तर, अहिले स्टक आउट भएको छ । स्टक आउट भएसँगै सुन आयातलाई पुनः निरन्तरता दिएको छ । बजारमा सुन अभाव हुँदैन, उनले भनेका छन्् । उनले राष्ट्र बैंकले सुनको आयात कोटा किन बढाएको भन्ने विषयमा आफु जानकार नरहेको बताएका छन् । यसअघि हामीले मासिक एक सय किलो सुन आयात गरिरहेका थियौं । उक्त आयातित सुन पनि बिक्रि नहुने अवस्था छ । तर, राष्ट्र बैंकले दैनिक सुनको आयात कोटा बढाएर २५ किलोग्राम बनाएको छ । किन बढाएको भन्ने कुराको उत्तर राष्ट्र बैंकलाई नै सोध्नु पर्ने उनको भनाई छ । यता, राष्ट्र बैंकले भने दीर्घकालका लागि सुन आयात हुन सक्ने आंकलन गर्दै सरोकारवाला निकायकै अनुरोधमा आयात कोटा बढाएको जनाएको छ ।