free website hit counter

कृष्ण कँडेलविरुद्ध एक्लै परेकी शर्मिला

beemaadmin
२०८० फाल्गुन १२, शनिबार

काठमाडौं । गायिका शर्मिला श्रेष्ठ र लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलबीचको लफडा अदालत पुगिसकेको छ। मुद्दा दायर गरेपछि कँडेल सामाजिक सञ्जालमा मौन छन्। यता, शर्मिला भने निरन्तर आफ्ना कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकै छिन्। शर्मिलाले वर्षौंदेखि हिंसा सहेर पनि आफूले नबोलेको बताएकी छन्। कँडेलले पठाएका म्यासेजको प्रिन्ट देखाउँदै एउटा भिडिओमा भनेकी छन्, बसेर कुरा गर्नु छ, म कोठा मिलाउँछु भनेको छ। बहिनीसँग कुरा गर्न पनि कोठा मिलाउनुपर्छ ? अफिसमा गर्न सकिँदैन ?’ आफूमाथि भएको अन्यायका विरुद्धमा बोल्दा धेरैको हप्कीदप्की खानुपरेको शर्मिलाले बताएकी छन्। उनले भनेकी छन्, ‘धेरैले भगवान मानेका मान्छेको पोल खोलिदिएको भन्दै गाली गरेका छन्। कति त रोएका छन्। तर, एउटा चेलीले सधैँ पीडा लुकाएर बाँच्न नसक्ने रहेछ।’ कँडेलले केही गरेको छैन भनेर पत्रकार सम्मेलन गरेको तर आफूसँग भेटेर दोहोरो कुरा गर्न नसकेको शर्मिलाको टिप्पणी छ। उनले कँडेललाई आफूसँग आएर सार्वजनिक रूपमा बहस गर्न चुनौती दिएकी छन्। उनी भन्छिन्, ‘कृष्ण दाइ आउनू, सँगै बसेर यो विषयमा डिबेट गरौँ। तपाईंले मलाई गरेका हर्कतका बारेमा बताउनेछु।’ यौन दुर्व्यवहारमा परेको भन्दा बलात्कार भयो भन्ने गलत बुझाइ पनि समाजमा परेको शर्मिलाको गुनासो छ। उनले बलात्कार नभएर सेक्सुअल ह्यारेसमेन्टमा परेको स्पष्टोक्ति दिएकी छिन्। भन्छिन्, ‘एकपटक होइन, पटकपटक सेक्सुअल ह्यारेसमेन्टमा परेको छु।’ पहिला नै मुद्दा लिएर अदालत गएको भए आफूलाई बाँच्न नदिने अवस्था देखेर सामाजिक सञ्जालबाट घटना सार्वजनिक गरेको शर्मिला बताउँछिन्। कँडेलबाट कलाकारमाथि विगतदेखि नै ज्यादती हुँदै आएको दाबी पनि उनले गरेकी छन्। इन्द्रेणीले कलाकारमाथि ज्यादती गरे पनि अहिलेसम्म कसैले नबोलेको तर आफूले मुख खोलेको बताइरहेका बेला लामो समय इन्द्रेणीमा काम गरेकी बबिता बानियाँ ‘जेरी’ले आफूले कयौँपटक ट्याक्सी भाडासमेत नपाएको बताएकी छन्। उनले कँडेलको चरित्र पनि राम्रो नभएको संकेत गर्दै भनेकी छिन्, ‘हावा नचली पात हल्लिँदैन, यहाँ जरै हल्लिएको छ।’

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार