काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी नहुँदा समग्र बीमा व्यवसायमाथि नै प्रश्न चिन्ह खडा हुन थालेको छ । बीमा व्यवसायको विश्वसनियतामाथिनै प्रश्न चिन्ह उठाएको कोरोना बीमा दाबी भुक्तानी सहज बनाउने दायित्व पाएको अर्थ मन्त्रालयले दाबी भुक्तानीका लागि चासो दिएको छ । भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् ।
सो सम्बन्धमा चासो देखाउँदै मन्त्री शर्माले बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई छलफलमा बोलाएका हुन् ।
शर्माले कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् । साथै, उनले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन् । हाल विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।