दाङ । सिंगो विश्व कोरोनाको आतंकबीच रहेको बेला दाङको घोराहीका एक जोडीले क्वारेन्टिनबाट निस्किएर वरपिपलको रूखमुनि सँगै मर्ने सँगै बाँच्ने बाचासहित विवाह गरेका छन्। घोराही उपमहानगरपालिका १८ का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका ७ की २१ वर्षीया सीता चौधरीले आइतबार क्वारेन्टाइबाट निस्किएलगत्तै विवाह भएको हो। परिवारको सल्लाहअनुसार उनीहरूको विवाह भएको हो । २ वर्षअघि उनीहरुको फेसबुकबाट चिनजान भएको थियो। चिनजान भएको केही समयमै उनीहरूको माया बस्यो। त्यही मायालाई विवाहमा बदल्न ९ महिनाअघि उनीहरू भागेर भारत गएका थिए।
९ महिनाअघि भारत गएका उनीहरु जेठ १० गते फर्केर आएपछि क्वारेन्टाइनमा बसेका थिए । पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन उनीहरुले विवाह गरेका थिए । घर परिवारले आफ्नो अन्तरजातीय विवाहलाई सहजै स्वीकार गरेको र अभिभावककै सल्लाहमा रिपोर्ट नेगेटिभ आएकै दिन समुदायलाई साक्षी राखेर औपचारिक रूपमा विवाह गरेको उनीहरुले बताएका छन् । नवविवाहित जोडीलाई थप १५ दिन होम क्वारेन्टाइनमै बस्न आग्रह गरिएको बताइएको छ ।