free website hit counter

गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ७१३ जनाले गरे रक्तदान

beemaadmin
२०८३ मंसिर ९, मंगलवार

काठमाडौं । रगतको अभाव भइरहेका बेला गरिमा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१३ जनाले रक्तदान गरेका छन् ।

बैंकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार बैंकका विभिन्न शाखा तथा कार्यालयमा आयोजित कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।

Advertisement
Advertisement

कार्यक्रमअन्तर्गत बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा ८१ जनाले रक्तदान गरेका छन् । त्यस्तै, बेनी कार्यालयमा ५०, पोखरा कार्यालयमा १३२, वालिङ शाखामा ५४, बुटवल शाखामा १०१, कोहलपुर शाखामा १०६, नारायणगढ शाखामा ८३, जनकपुर शाखामा ४३ र इटहरी शाखामा ६३ जनाले रक्तदान गरेका छन् ।

Advertisement
Advertisement

बैंकले गत वर्षको वार्षिकोत्सवका अवसरमा विभिन्न स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६०२ युनिट रगत संकलन गरेको थियो । यस वर्ष भने गत वर्षको तुलनामा १११ युनिट बढी रगत संकलन भएको छ ।

विभिन्न कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ जनप्रतिनिधि, स्थानीय समाजसेवी, बैंकका सञ्चालक तथा उच्च तहका कर्मचारीले गरेका थिए । कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूको समेत सहभागिता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले रगतको अभाव जुनसुकै समयमा र जुनसुकै स्थानमा हुन सक्ने भएकाले त्यसलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए ।

उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको हित र सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

यसैबीच, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा गत शनिबार काठमाडौंमा गरिमा ‘रोड रेस’ आयोजना गरेको थियो । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित उक्त दौड प्रतियोगिता तेस्रो संस्करण हो ।

सम्बन्धित समाचार