काठमाण्डौ । दसैं, तिहार र छठलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीहरूले नयाँ गाडी खरिदमा आकर्षक अफर सार्वजनिक गरेका छन्। कम्पनीहरूले नगद छुट, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, एक्सचेन्ज बोनस तथा विभिन्न एसेसरिज उपलब्ध गराउँदै चाडपर्वको बजारमा ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धा बढाएका छन्।
हाल सञ्चालनमा रहेका योजनाअनुसार नयाँ गाडी खरिद गर्दा ग्राहकले ५० हजार रुपैयाँदेखि अधिकतम ३ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। केही कम्पनीले एक वर्षको निःशुल्क ‘अटो प्लस’ इन्स्योरेन्स, रोड ट्याक्स र आवश्यक एसेसरिजसमेत निःशुल्क उपलब्ध गराएका छन्।
एमजीमा ३ लाखसम्म नगद छुट
नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विभिन्न मोडलमा नगद छुट र निःशुल्क इन्स्योरेन्सको सुविधा ल्याएको छ।
कम्पनीका अनुसार मोडलअनुसार न्यूनतम १ लाखदेखि अधिकतम ३ लाख रुपैयाँसम्म नगद छुट दिइएको छ। एमजी एस–५ खरिदमा १ लाख रुपैयाँ नगद छुट तथा एमजी एम–५ मा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स उपलब्ध छ।
एमजी यु–९ खरिदमा १ लाख ५० हजार रुपैयाँ नगद छुटसँगै एक वर्षको निःशुल्क इन्स्योरेन्स दिइएको छ। एमजी एचएसमा भने सबैभन्दा बढी ३ लाख रुपैयाँसम्म नगद छुट र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्सको सुविधा छ।
त्यस्तै, एमजी आइएम–६ र एमजी एस–६ खरिदमा पनि एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स उपलब्ध गराइएको छ।
बाढी र वर्षाले डेलिभरी प्रभावित, बुकिङमा खासै असर छैन
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी तथा असोज ८ देखि ११ गतेसम्मको लगातार वर्षाका कारण यातायात तथा ढुवानी प्रभावित हुँदा नयाँ गाडीको आपूर्तिमा समेत असर परेको छ।
नक्सालस्थित एमजीका सिनियर सेल्स अफिसर हरि खड्काका अनुसार रसुवा नाका अवरुद्ध भएपछि गाडी आयातका लागि वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपरेको थियो। यसका कारण बुकिङ भएका केही गाडीको डेलिभरीमा ढिलाइ भएको उनले बताए।
यद्यपि, बाढी र वर्षाका कारण गाडीको बुकिङ दरमा भने उल्लेख्य असर नपरेको उनको भनाइ छ। उनका अनुसार भदौमा करिब १०० वटा एमजी गाडी बुकिङ भएका थिए भने नक्साल शोरुमबाट ३२ वटा गाडी डेलिभरी गरिएको थियो।
असोज मध्यसम्म करिब ५० वटा गाडी बुकिङ भएको र ३५ वटा डेलिभरी भइसकेको उनले बताए। सोह्रश्राद्ध सुरु भएसँगै भने अटो बजारमा केही सुस्तता देखिन थालेको उनको भनाइ छ।
सुजुकी ब्रेजामा १ लाखसम्म छुट
नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले पनि चाडपर्व लक्षित अफर सञ्चालन गरिरहेको छ। कम्पनीले विभिन्न मोडलमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म नगद छुटसँगै निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिजको सुविधा दिएको छ।
सुजुकी ब्रेजा खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट तथा एक्सचेन्जमार्फत गाडी खरिद गर्दा थप १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराइएको छ। साथै, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स, डोर भाइजर, फ्लोर म्याट, साइड मोल्डिङ, मडगार्ड र नम्बर प्लेटजस्ता एसेसरिजसमेत निःशुल्क दिइने कम्पनीले जनाएको छ।
फ्रोन्क्स र इको कार्गोमा पनि छुट
सुजुकी इको कार्गो खरिदमा ५० हजार रुपैयाँ नगद छुट दिइएको छ। यसमा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र बेसिक एसेसरिज उपलब्ध छन्।
त्यस्तै, सुजुकी फ्रोन्क्समा १ लाख रुपैयाँ नगद छुट तथा एक्सचेन्जमा थप ५० हजार रुपैयाँ बोनसको व्यवस्था गरिएको छ। फ्रोन्क्समा पनि एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिज उपलब्ध गराइएको छ।
भिक्टोरियस र ई–भिटारामा १ लाखसम्म छुट
सुजुकी भिक्टोरियस र ई–भिटारामा १ लाख रुपैयाँसम्म नगद छुट दिइएको छ। एक्सचेन्जमा गाडी खरिद गर्दा थप १ लाख रुपैयाँसम्म बोनस पाइनेछ।
यी दुवै मोडलमा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिजसमेत उपलब्ध छन्। सुजुकी वागेन आरमा भने ८० हजार रुपैयाँ नगद छुटसँगै एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिजको सुविधा दिइएको छ।
सुजुकीको बुकिङमा बाढीको असर छैन
भोटेकोशीको बाढी र लगातारको वर्षाले ढुवानी तथा व्यवसाय प्रभावित भए पनि सुजुकी गाडीको बुकिङमा भने खासै असर नपरेको कम्पनीका बिक्री कर्मचारी बताउँछन्।
नक्सालस्थित सुजुकी शोरुमका सेल्स एक्जिक्युटिभ साजन खड्गीका अनुसार भदौमा २२ देखि २३ वटा गाडी बुकिङ भएका थिए। हाल पनि बुकिङको अनुपात लगभग उस्तै रहेको उनले बताए।
यद्यपि, सोह्रश्राद्ध सुरु भएपछि नयाँ गाडीको बुकिङ र डेलिभरीमा भने सुस्तता आएको उनको भनाइ छ। उनका अनुसार अहिले नयाँ बुकिङ निकै कम भएको छ।
चाडपर्व नजिकिँदै जाँदा अटोमोबाइल कम्पनीहरूले छुट र सुविधाको प्रतिस्पर्धा बढाएका छन्। सोह्रश्राद्धका कारण तत्काल बजार केही सुस्त देखिए पनि दसैंको मुख्य खरिद अवधि सुरु भएपछि अटो बजार पुनः चलायमान हुने व्यवसायीहरूको अपेक्षा छ।