free website hit counter

घरजग्गा बजारमा उत्साहजनक सुधार, कारोबार १.८४ खर्ब नाघ्यो

beemaadmin
२०८३ असार २३, मंगलवार

काठमाडौं । लामो समयदेखि सुस्ताएको नेपालको घरजग्गा (रियल स्टेट) बजारमा पुनः सुधारका संकेत देखिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म देशभर १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ खर्ब ७ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार राष्ट्रियस्तरमा घरजग्गा कारोबार संख्या ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो।

प्रतिवेदनअनुसार राजीनामा (लिखत पारित) कारोबार संख्या १२.१७ प्रतिशत र कारोबार भएको कुल क्षेत्रफल १.६० प्रतिशतले वृद्धि भएको छ। कारोबार बढेसँगै सरकारको राजस्व संकलन २३.७२ प्रतिशत तथा पुँजीगत लाभकर संकलन ३१.४२ प्रतिशतले बढेको छ।

यद्यपि, घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको वृद्धिदर भने केही सुस्त देखिएको छ। अघिल्लो वर्ष ७.५२ प्रतिशत रहेको कर्जा वृद्धि यस वर्ष ५.५५ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौंमा कारोबार मूल्य २२३ प्रतिशतले बढ्यो

प्रतिवेदनअनुसार सबैभन्दा ठूलो सुधार काठमाडौं महानगरपालिकामा देखिएको छ। यहाँ घरजग्गा कारोबारको कुल मूल्य २२३.१२ प्रतिशतले बढेको छ। यसले राजधानी केन्द्रित रियल स्टेट बजारमा पुनः लगानीकर्ताको आकर्षण बढ्न थालेको संकेत दिएको छ।

प्रदेशगत रूपमा बागमती प्रदेश सबैभन्दा सक्रिय देखिएको छ। यहाँ राजीनामा कारोबार संख्या ३३.०१ प्रतिशत र कुल कारोबार मूल्य १३१.५२ प्रतिशतले बढेको छ।

यता मधेश प्रदेशमा कारोबार संख्या ४.७९ प्रतिशत र कारोबार क्षेत्रफल ९.३३ प्रतिशतले घटे पनि कारोबार मूल्य भने २२.६७ प्रतिशतले वृद्धि भएको छ।

साना प्लटप्रति बढ्दो आकर्षण

राष्ट्र बैंकका अनुसार सातै प्रदेशमा २.५ देखि १० आनासम्मका साना प्लटको माग सबैभन्दा बढी देखिएको छ। यसले आवासीय प्रयोजनका लागि साना जग्गाप्रति उपभोक्ताको रुचि बढिरहेको संकेत गरेको छ।

अन्य महानगरमा पनि कारोबार बढ्यो

काठमाडौंबाहेक अन्य प्रमुख महानगरपालिकामा पनि घरजग्गा कारोबार उल्लेखनीय रूपमा बढेको छ। प्रतिवेदनअनुसार:

  • पोखरा महानगरपालिका – ८२.१५ प्रतिशत
  • ललितपुर महानगरपालिका – ७३.८१ प्रतिशत
  • वीरगञ्ज महानगरपालिका – ३१.०७ प्रतिशत
  • भरतपुर महानगरपालिका – २९.२१ प्रतिशत
  • विराटनगर महानगरपालिका – २७.९२ प्रतिशत

उपमहानगरपालिकामध्ये बुटवलमा कारोबार संख्या ५६.७९ प्रतिशतले बढेको छ भने कारोबार मूल्यका आधारमा तुलसीपुर उपमहानगरपालिका १३४.४६ प्रतिशत वृद्धिसहित अग्रस्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित समाचार