free website hit counter

पत्रकार पक्राउ प्रकरणपछि आईजीपी कार्कीको सन्देश : निष्पक्ष र साहसिक रिपोर्टिङको अपेक्षा

beemaadmin
२०८३ कार्तिक १५, शनिबार

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक पत्रकारिताको अपेक्षा गरेको बताएका छन्। विभिन्न सञ्चारमाध्यमका पत्रकार पक्राउ परेको घटनाको भोलिपल्ट उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

कार्कीले संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन्।

Advertisement
Advertisement

उनले भनेका छन्, ‘संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ।’

Advertisement
Advertisement

सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुगोस् भन्ने विषयमा नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पत्रकारिताका क्रममा आवश्यक सहयोग गर्न प्रहरी तयार रहेको बताएका छन्।

उनको यो अभिव्यक्ति शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनापछि आएको हो। चौतर्फी विरोध भएपछि प्रहरीले नियन्त्रणमा लिएका पत्रकारलाई रिहा गरेको थियो।

यसअघि बिहीबार मात्रै प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्व र संगठनबारे भ्रम फैलाउने गतिविधि भइरहेको दाबी गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो।

पछिल्लो समय बिचौलिया इनम सापकोटा र प्रहरी महानिरीक्षक कार्कीबीच सम्बन्ध रहेको दाबीसहितका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए। यही विषयसँगै प्रधानमन्त्रीको सचिवालयले आईजीपीको राजीनामा मागेको चर्चा पनि सञ्चारमाध्यममा आएको थियो। त्यसपछि प्रहरीले विज्ञप्ति जारी गर्दै प्रहरी संगठनविरुद्ध भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको थियो।

यही पृष्ठभूमिमा शुक्रबार नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अन्य केही सञ्चारकर्मीको खोजीसमेत गरिएको थियो।

संयोगवश, प्रहरी नेतृत्व र इनम सापकोटाबीच सम्बन्ध रहेको विषयमा समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमसँग आबद्ध पत्रकारहरू नै प्रहरी कारबाहीको निशानामा परेको देखिएको छ। यसले पत्रकार पक्राउको कारण, प्रहरी अनुसन्धानको आधार र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे थप प्रश्न उठाएको छ।

पत्रकार पक्राउ प्रकरणपछि आईजीपी कार्कीले निष्पक्ष र साहसिक रिपोर्टिङको अपेक्षा व्यक्त गरे पनि सञ्चारकर्मीमाथि भएको प्रहरी कारबाही र त्यसको औचित्यबारे भने प्रहरीको आधिकारिक धारणा अझै स्पष्ट हुन सकेको छैन।

सम्बन्धित समाचार