चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ करेन्ट लागेर मरेको पुष्टि भएको छ।
शनिबार बिहान निकुञ्जको बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोको मृत्यु करेन्ट लागेर भएको बताइएको हो। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा विद्युत् पुर्याउन लगिएको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उसको मृत्यु भएको जनाइएको छ। सेनाले बिसहजारी तालको गेटतर्फबाट ब्यारेकसम्म विद्युत् लगेको थियो।
स्रोतका अनुसार करिब १५–१६ फिट उचाइमा रहेको विद्युत्को तारनजिकको घाँस खान खोज्दा रोनाल्डोले घाँस तानेको थियो। त्यस क्रममा घाँससँगै तारसमेत तल झरेको र बाहिर इन्सुलेसन गरिएको तार रोनाल्डोले चपाउँदा करेन्ट लागेको बताइएको छ। करेन्ट लागेर उसको मुख र जिब्रोमा समेत चोट तथा डढेको जस्तो देखिएको स्रोतले जनाएको छ।
घटनाबारे चितवन राष्ट्रिय निकुञ्जले भने अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन। रोनाल्डोको मृत शरीरको पोस्टमार्टमपछि खाल्डो खनेर गाड्ने तयारी भइरहेको जनाइएको छ।
५३ वर्षीय रोनाल्डो करिब २४ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा देखिएको थियो। सौराहास्थित हात्ती प्रजनन केन्द्रमा रहेका पोथी हात्तीसँग प्रजनन गराउने प्रमुख भाले हात्तीका रूपमा समेत रोनाल्डो परिचित थियो। निकुञ्जका अनुसार रोनाल्डो ३८ वटा छावाको पिता हो।
रोनाल्डोको मृत्युसँगै सौराहास्थित हात्ती प्रजनन केन्द्रमा पोथी हात्तीको प्रजननका लागि ‘गोविन्दे’ र ‘ध्रुवे’ गरी दुई वटा भाले हात्ती मात्रै बाँकी रहेका छन्। रोनाल्डो सक्रिय रहँदासम्म गोविन्दे र ध्रुवे प्रजनन केन्द्र आसपास कमै देखिने गरेको बताइन्छ।
यसअघि करिब दुई वर्षअघि सौराहा क्षेत्रमा देखिएको भाले मकुना हात्तीलाई निकुञ्जभित्र पठाउने क्रममा नेपाली सेनाले गोली हानेर मारेको घटना पनि भएको थियो।