free website hit counter

चार्टरका नाममा लूट मच्चिएपछि छानविन समिति

beemaadmin
२०७७ जेष्ठ २८, बुधबार

काठमाडौं । आपतमा परेकाहरुलाई कमाईका माध्यम बनाउन जतातै जुँकाले मुख बाएजसरी बस्नेहरु थुप्रै छन् । अत्याधिक महङ्गो भाडा लिएर जापानको उडान गरेपछि पर्यटन मन्त्रालयले यस सम्बन्धमा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले सह–सचिव सुरेश आचार्यको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात माहाशाखा प्रमुख सचित भक्त पोखरेल र पर्यटन मन्त्रालयका कानुन हेर्ने उपसचिव राजन नेपाल रहेका छन् । काठमाडौँबाट जापानको नारिता विमानस्थलसम्मको यात्राका लागि प्रतियात्रु १ हजार ३ सय ५० डलरसम्म लिएर यात्रु पठाइएको थियो । उद्धारका नाममा अत्याधिक चर्को भाडा लिएर धमाधाम चार्टर फ्लाइट हुन थाले पनि त्यहाँ भित्रको लुट भने पर्यटन मन्त्रालयले हेरेको थिएन । मुख्यतः जापान र अमेरिकाको चार्टर उडानमा अत्याधिक महङ्गो भाडा लिएपछि सरकार विवादमा परेको हो । मंगलबार सोसाइटी ट्राभलले जापानको नारिताका लागि चार्टर फ्लाइट राखेको थियो ।
मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलपछि जापानको नारिता उडानका लागि अब अधिकतम १ हजार ५० डलर मात्रै लिन पाउने निर्णय भएको छ । अब चार्टर फ्लाइट भएपनि जापानको नारिता उडान गर्दा इकोनोमी क्लासमा यात्रा गर्ने यात्रुबाट अधिकतम १ हजार ५० डलरमात्रै लिन पाइने भएको छ । तर बिहीबार अर्थात् जुन ११ मा पनि सिरिन ट्राभलले जापानको उडान भर्दैछ । सिरिन ट्राभलले प्रतियात्रु १ हजार १ सय देखि १ हजार ४ सय अमेरिकी डलरसम्म भाडा लिएको छ ।

समय तोकियो
नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने जहाज दिउँसो ३ बजेभित्र काठमाडौं विमानस्थलमा अवतरण भइसक्नुपर्ने निर्णय गरेको छ। प्राधिकरणले विमान राति आउँदा यात्रुको व्यवस्थापनमा कठिन हुने भएकाले समयतालिका निश्चित गरिएको जनाएको हो । विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा लिनुपर्ने र व्यवस्थापनका लागि सजिलो हुने भएकाले ३ बजेभित्रै जहाज काठमाडौं आइपुग्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार